न्युज टाईम्स टिभी डेस्क — महोत्तरी, फाल्गुन १२,मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीका महोत्तरी क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार दीपक शाह यतिबेला तीव्र घरदैलो अभियानमा सक्रिय भएका छन्। गाउँ–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनले स्वच्छ, स्वतन्त्र र सचेत मतदानको आवश्यकता औँल्याएका छन्।
घरदैलो कार्यक्रमका क्रममा शाहले मतदातालाई कसैको दबाब, प्रभाव तथा मासु–मदिराको प्रलोभनमा नपर्न आग्रह गरे। नागरिक नै देशका वास्तविक मालिक भएको उल्लेख गर्दै उनले एक मतले देशको नेतृत्व निर्धारण गर्ने भएकाले विवेकपूर्ण निर्णय गर्न आवश्यक रहेको बताए।
“हामी नागरिक देशका राजा हौँ। मासु र रक्सीमा नबिकी सक्षम र इमान्दार व्यक्तिलाई अवसर दिनुपर्छ,” उनले भने, “तपाईंको भोट नै प्रधानमन्त्रीको नियुक्ति पत्र हो, त्यसैले समयमै विवेक प्रयोग गर्न आग्रह गर्दछु।”
युवा, शिक्षित र बौद्धिक पृष्ठभूमिका उम्मेदवार शाहले स्वच्छ राजनीति, सुशासन र विकासलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताएका छन्। मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै उनले क्षेत्रभर घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन्।
तपाईंको भोट नै प्रधानमन्त्रीको नियुक्ति पत्र हो : महोत्तरी–२ मा दीपक शाहको सशक्त अपिल !
