न्युज टाईम्स टिभी डेस्क, जनकपुरधाम, २०८२ फागुन १६ — नेपाल सि.एम.ए. संघ / अ.हे.ब. स्वास्थ्यकर्मी जनशक्ति प्रतिनिधि, प्रदेश कार्यालय जनकपुरधामले स्वास्थ्य सेवा चौथो तहको विज्ञापन तथा सम्बन्धित कानुनी व्यवस्थामा देखिएका त्रुटिहरू सच्याउन माग गर्दै शुक्रबार विभिन्न निकायमा ज्ञापन पत्र बुझाएको छ।
संघका अनुसार प्रदेश लोकसेवा आयोग मधेश प्रदेश द्वारा प्रकाशित स्वास्थ्य सेवा चौथो तहको विज्ञापनमा उमेर हद सम्बन्धी समस्या रहेको छ। साथै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत जारी “स्वास्थ्य संस्था स्थापना तथा स्तरोन्नति निर्देशिका” तथा मधेश प्रदेश सरकार अन्तर्गत प्रचलित मधेश प्रदेश निजामती ऐन २०७७ र स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ मा पनि केही नीतिगत तथा कानुनी अस्पष्टता रहेको संघको भनाइ छ।
उक्त समस्याहरू समाधानका लागि संघले आज निम्न कार्यालयहरूमा ज्ञापन पत्र बुझाएको जनाएको छ—
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश प्रदेश
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेश
मधेश प्रदेश सभा
संघले सम्बन्धित निकायलाई यथाशीघ्र त्रुटि सच्याई स्वास्थ्यकर्मीहरूको पेशागत हक–हित सुनिश्चित गर्न माग गरेको छ। साथै, सबै सि.एम.ए./अ.हे.ब. स्वास्थ्यकर्मीहरूलाई एकजुट भई अधिकारका लागि सक्रिय हुन आह्वान समेत गरिएको छ।

