लोहरपट्टीमा राजनीतिक तरंग : विभिन्न दल छोडेर १५० जना राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश !

सन्तोष कुमार यादव

न्युज टाईम्स टिभी डेस्क – महोत्तरी, फागुन ८ । महोत्तरीको लोहरपट्टी नगरपालिका मा आज आयोजित एक कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गर्दै करिब १५० जना नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। स्थानीय राजनीतिमा यस घटनालाई महत्वपूर्ण राजनीतिक गतिविधिका रूपमा हेरिएको छ।

लोहरपट्टी नगरपालिकाबाट जनमत पार्टी का तर्फबाट मेयर पदका प्रत्याशी रहेका राम हृदय यादव सहित विभिन्न दलका नेता तथा कार्यकर्ताहरूले सामूहिक रूपमा पार्टी प्रवेश गरेका हुन्।

महोत्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार दीपक शाह तथा पार्टीकी केन्द्रीय सदस्य निशा मेहता को उपस्थितिमा नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरिएको थियो।

लोहरपट्टी नगरपालिका–६ स्थित क्षेत्रीय पार्टी कार्यालय उद्घाटनको अवसरमा आयोजित कार्यक्रम राम हृदय यादवको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै यादवले देशमा सकारात्मक परिवर्तनको आवश्यकता रहेको उल्लेख गर्दै नयाँ सोच र नयाँ अभियानका साथ अघि बढिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आफू आकर्षित भएको बताए। उनले परिवर्तनको अपेक्षासहित पार्टी प्रवेश गरेको उल्लेख गरे।

उनले निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका दीपक शाहलाई विजयी गराउन सम्पूर्ण क्षेत्रवासीसँग सहयोग र समर्थनको अपिल गरेका छन्।

कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *