श्रममन्त्री दीपक साहलाई जिम्मेवारीबाट हटाउन प्रधानमन्त्रीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सिफारिस

काठमाडौं, चैत २६ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय दीपक कुमार साहलाई जिम्मेवारीबाट अलग गर्न प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको छ। पार्टी सभापति रवि लामिछानेद्वारा हस्ताक्षरित पत्रमार्फत उक्त सिफारिस गरिएको हो।

रास्वपाको केन्द्रीय अनुशासन आयोगको अध्ययनअनुसार मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गर्दै आफ्नी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बिमा बोर्डको सदस्यमा नियमित गराउने कार्य गरेको उल्लेख गरिएको छ। आयोगले यस विषयमा आवश्यक कारबाहीका लागि मिति २०८२ चैत २५ गते पत्र पठाएको जनाइएको छ।

उक्त घटनाबाट पार्टीको छवि, आदर्श, सिद्धान्त तथा मर्यादामाथि आँच पुग्ने देखिएको भन्दै पार्टी विधानअनुसार कदम चाल्नुपर्ने आवश्यकता औंल्याइएको छ। पत्रमा पार्टी विधानको धारा २५ (४) (क) ले सभापतिलाई पार्टीको आदर्श र मर्यादा जोगाउने जिम्मेवारी दिएको र धारा ६९ अनुसार पदको दुरुपयोग भएको अवस्थामा जिम्मेवारीबाट फिर्ता बोलाउन सकिने व्यवस्था रहेको उल्लेख गरिएको छ।

यस्तै, सो विषयमा अपेक्षित गाम्भीर्यता नदेखिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय निशा मेहतालाई सचेत गराउन समेत सिफारिस गरिएको पत्रमा उल्लेख छ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *