धनुषा, २६ चैत — जानकी स्वयंसेवक संघ (जानकी सेना) ले राष्ट्रिय विभूति राजर्षि जनक तथा माता सीताको जन्मोत्सव “जानकी नवमी” र “राजर्षि जनक जयन्ती” का अवसरमा राष्ट्रिय विदा घोषणा गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी, धनुषालाई ज्ञापनपत्र बुझाएको छ।
संघका अध्यक्ष स्वामी राम स्वराजको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा मिथिलाको पावन भूमिमा अवतरित माता सीता विश्वभरका नारीहरूको मर्यादा, त्याग, धैर्य र पवित्रताको सर्वोच्च आदर्श रहेको उल्लेख गरिएको छ। उहाँकै कारण नेपाल आध्यात्मिक तथा सांस्कृतिक रूपमा विश्व समुदायमा परिचित भएको भन्दै जानकी नवमीमा राष्ट्रिय विदा घोषणा गर्नुपर्ने माग गरिएको छ।
त्यस्तै, विदेहराज राजर्षि जनकलाई नेपालका पहिलो राष्ट्रिय विभूति, वैदिक दर्शनका महान ज्ञाता तथा न्यायप्रिय शासकका रूपमा उल्लेख गर्दै उहाँको जन्मजयन्तीमा समेत हालसम्म राष्ट्रिय विदा नदिइनु दुःखद भएको संघको भनाइ छ। अन्य राष्ट्रिय विभूतिहरूका जन्मजयन्तीमा विदा दिइँदा नेपालमै जन्मिएका यस्ता महान व्यक्तित्वका दिन विदा नहुनु समानताको सिद्धान्त विपरीत भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
संघले प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने जानकी नवमी (वि.सं. २०८३ वैशाख १२ गते) तथा फाल्गुन कृष्ण अष्टमीमा मनाइने राजर्षि जनक जयन्तीका अवसरमा राष्ट्रिय विदा घोषणा गर्न नेपाल सरकारसमक्ष आवश्यक पहल गरिदिन प्रमुख जिल्ला अधिकारीमार्फत अनुरोध गरेको छ।
ज्ञापनपत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई समेत पठाइएको जनाइएको छ।

