धनुषाधामका नगर प्रमुखमाथि सह–लेखापाल कुटपिटको आरोप, कारबाहीको माग गर्दै ज्ञापनपत्र

धनुषा, चैत २४ — धनुषाधाम नगरपालिकामा कार्यरत एक सह–लेखापालमाथि नगर प्रमुखले कुटपिट गरेको आरोप लागेको छ। लेखा समूह धनुषाले मंगलबार प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको हो।

ज्ञापनपत्रअनुसार धनुषाधाम नगरपालिकाको आर्थिक प्रशासन शाखामा सह–लेखापाल पदमा कार्यरत सुरेश कुमार मण्डललाई मिति २०८२ चैत २४ गते बिहान करिब ११ बजे नगर प्रमुख बालेवर मण्डलले कार्यकक्षमा बोलाएका थिए। त्यस क्रममा नगर प्रमुखले प्रयोगमा रहेको मोबाइल सेटसमेत कब्जामा लिई गाली–गलौज, हातपात तथा कुटपिट गरेको आरोप लगाइएको छ।

घटनाका बेला उपस्थित पशु विकास अधिकृत विष्णुदेव यादवको सहयोगमा मण्डल कार्यकक्षबाट बाहिर निस्कन सफल भएको र ज्यान सुरक्षाका लागि सम्बन्धित निकायलाई जानकारी गराइएको उल्लेख गरिएको छ। त्यसपछि सुरक्षाकर्मीको सहयोगमा कोष तथा लेखा नियन्त्रण कार्यालय धनुषामा पुगेर निवेदन दिएको जनाइएको छ।

लेखा समूह धनुषाले कानून कार्यान्वयन गराउने जिम्मेवारीमा रहेका नगर प्रमुखबाटै यस्तो घटना हुनु निन्दनीय भएको भन्दै घोर भर्त्सना गरेको छ। साथै सह–लेखापाल सुरेश कुमार मण्डलमाथि भएको कुटपिट तथा ज्यान मार्ने प्रयासबारे छानबिन गरी नगर प्रमुख बालेवर मण्डलमाथि कानुनी कारबाही गर्न माग गरिएको छ।

समूहले कर्मचारीहरूको कार्यस्थलमा शान्ति सुरक्षा सुनिश्चित गर्न समेत जिल्ला प्रशासन कार्यालयसँग आग्रह गरेको छ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *