८१ लाख नाफासहित महिला साना किसान सहकारी चक्करको १०औँ साधारण सभा !

न्युज टाईम्स टिभी डेस्क – जनकपुरधाम। धनुषाको औरही गाउँपालिका–५ स्थित महिला साना किसान कृषि सहकारी संस्था लि., चक्कर को १०औँ वार्षिक साधारण सभा भव्य तथा गरिमामय रूपमा सम्पन्न भएको छ।

साधारण सभामा आर्थिक वर्ष २०८१/०८२ मा सहकारीले सञ्चालन गरेका गतिविधिहरूको समीक्षा, हासिल भएका उपलब्धि तथा आगामी योजनाहरूमाथि केन्द्रित रहीयो। कार्यक्रमले सहकारीको संस्थागत सुदृढीकरण, सदस्यहरूको आर्थिक सशक्तीकरण तथा भविष्यका रणनीतिहरू निर्धारण गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागिहरूले बताएका छन्।

साधारण सभा सहकारी संस्थाकी अध्यक्ष गीता ठाकुरको अध्यक्षता तथा औरही गाउँपालिका अध्यक्ष उमा शंकर प्रसाद साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

साधारण सभामा प्रस्तुत प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/०८२ सम्म सहकारीका कुल शेयर सदस्य संख्या १,२०६ पुगेको छ भने ६३५ जना ऋणी सदस्य रहेका छन्। आर्थिक विवरणअनुसार चालु आर्थिक वर्षमा सहकारीले १ करोड ९० लाख ५६ हजार रुपैयाँ आम्दानी गरेको छ भने १ करोड ०९ लाख ३२ हजार रुपैयाँ खर्च भएको छ। यस अवधिमा सहकारीले ८१ लाख २४ हजार रुपैयाँ नाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ। साथै, संस्थाको कुल सम्पत्ति १२ करोड ९५ लाख ८० हजार १६३ रुपैयाँ पुगेको छ।

संस्थाका प्रबन्धक दिनेश कुमार बरहीले २०८१/०८२ तुलनात्मक प्रगती विवरण प्रस्तुत गरेको थियो। कार्यक्रममा किसानहरूका लागि ८ हजार रुपैयाँ बीमा शुल्कमा ३ लाख रुपैयाँसम्म क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था रहेको जानकारी दिइयो। सोही क्रममा प्रमिला देवी चमारको निधनपछि बीमा वापत ३ लाख ८ हजार ५०० रुपैयाँ उनको परिवारलाई हस्तान्तरण गरिएको उल्लेख गरियो।

सहकारीले पशुपालन तथा कृषि सम्बन्धी व्यवसायमा ७ प्रतिशत ब्याजदरमा सहुलियत कर्जा लगानी गर्ने तथा लघु कर्जामा १२ प्रतिशत ब्याजदर कायम गरिएको जानकारी पनि गराइएको छ।

त्यसैगरी साना किसान लघुवित्त वित्तीय संस्थामार्फत साना किसान समूह मधेश प्रदेशमै प्रथम स्थान हासिल गर्न सफल भएको र सो उपलब्धिका लागि २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको बताइएको छ।

कार्यक्रमलाई थप आकर्षक बनाउन राजदेवी एकेडेमिक इङ्ग्लिश बोर्डिङ स्कूलका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। उत्कृष्ट प्रस्तुतिका लागि विद्यार्थीहरूलाई सहकारी संस्थाद्वारा पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा गाउँपालिका उपाध्यक्ष पुनम कुमारी साह तथा राजदेवी एकेडेमिक इङ्ग्लिश बोर्डिङ स्कूलका प्रिन्सिपल राम पुकार ठाकुर, वडा अध्यक्ष शंकर प्रसाद साह, दीप नारायण पुर्बे, हरिचन्द्र पण्डित र सन्तोष रामले मन्तव्य राखेका थिए।

साधारण सभामा वडा अध्यक्ष सकिना खातुन, कार्यपालिका सदस्य राज कुमार सहनी सहित अतिथी, शेयर सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *