मैथिली भाषा र मधेशी समुदायमाथि अपमान भएको आरोप, सार्वजनिक माफीको माग
ओम प्रकाश
जनकपुरधाम, माघ ७ गते —
धनुषा चेम्बर अफ कमर्सले नेकपा (एमाले) का नेता महेश बस्नेतले प्रयोग गरेको मैथिली भाषासम्बन्धी अभिव्यक्तिप्रति कडा आपत्ति जनाएको छ। चेम्बरका अध्यक्ष विजय कुमार साहले उक्त अभिव्यक्तिलाई भाषा, संस्कृति तथा मधेशी समुदायको सम्मानमाथिको गम्भीर आघात भएको बताएका छन्।
अध्यक्ष साहका अनुसार मैथिली भाषामा “छौरा” वा “छौंडा” शब्दले भर्खरको किशोर केटोलाई जनाउँछ। उक्त शब्दको अर्थ नबुझी अपमानजनक रूपमा प्रस्तुत गर्नु गैरजिम्मेवार, भड्काउ र निन्दनीय कार्य भएको उनको भनाइ छ। “जुन भाषा बुझिँदैन, त्यसबारे टिप्पणी गर्नु बौद्धिकता होइन, अज्ञानता हो,” उनले भने।
राष्ट्रिय आवाजसँग कुराकानी गर्दै अध्यक्ष साहले यस्ता अभिव्यक्तिले सामाजिक सद्भावमा गम्भीर असर पार्ने चेतावनी दिए। उनले नेता बस्नेतले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै गैरजिम्मेवार अभिव्यक्तिको जति निन्दा गरे पनि कम हुने प्रतिक्रिया दिए।
