नेकपा एमालेका बटेश्वर गाउँपालिका प्रत्याशी श्याम सुन्दर महतो ३ चेक बाउन्स मुद्दामा दोषी

न्युज टाईम्स टिभी डेस्क – धनुषा, २०८२ माघ ९ गते, शुक्रबार। धनुषा बटेश्वर गाउँपालिका–५ का नेकपा (एमाले) बाट गाउँपालिका अध्यक्ष पदका प्रत्याशी श्याम सुन्दर महतो लगातार तीनवटा ठूला चेक अनादर तथा बैंकिङ कसूर प्रकरणमा दोषी ठहर भएका छन्। धनुषा जिल्ला अदालतले महतोले जानाजानी खातामा रकम नहुँदा करोडौँ रुपैयाँ बराबरका चेक जारी गरेको ठहर गर्दै कडा सजाय सुनाएको हो।

जिल्ला अदालत धनुषाका न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गत महतोलाई एक करोड रुपैयाँ बिगो भराई, सोही बराबर जरिवाना तथा १० दिन कैद सजाय सुनाएको छ। साथै अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार प्रतिवादीबाट चार लाख रुपैयाँ पीडित राहत कोषमा दाखिला गर्न आदेश दिएको छ। उक्त फैसला २०८१ साल माघ ९ गतेको हो।

अदालतका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१९ निवासी संजय शर्माले बैंक ऋण फछ्र्योट गर्ने प्रयोजनका लागि श्याम सुन्दर महतोलाई नगद एक करोड रुपैयाँ उपलब्ध गराएका थिए। प्रतिवादीले ऋण चुक्ता गरी पुनः बैंकबाट कर्जा उठाएर रकम फिर्ता गर्ने आश्वासन दिए पनि लामो समयसम्म रकम नफर्काई आलटाल गर्दै आएका थिए।

पछि महतोले प्राइम कमर्सियल बैंक लिमिटेड, जनकपुर शाखामा रहेको आइसा सेल्स ट्रेडिङ्ग प्रा.लि. को खाताबाट भुक्तानी हुने गरी २०७९ फागुन १५ गते एक करोड रुपैयाँको चेक जाहेरवालालाई दिएका थिए। तर उक्त चेक सिद्धार्थ बैंक लिमिटेड, जनकपुर शाखामा पेश गर्दा खातामा पर्याप्त मौज्दात नरहेको भन्दै चेक बाउन्स भएको थियो। पटक–पटक चेक पेश गर्दा पनि भुक्तानी नभएपछि पीडितले अदालतको शरण लिएका थिए।

सुनुवाइका क्रममा बैंकको आधिकारिक पत्र, चेक इन्फरमेशन रिपोर्ट, जाहेरवालाको बकपत्र तथा साक्षी बयानका आधारमा प्रतिवादीले खातामा रकम नभएको कुरा थाहा हुँदाहुँदै जानी–जानी चेक जारी गरेको पुष्टि भएको अदालतले ठहर गरेको छ। मुद्दा प्रक्रियाकै क्रममा महतो फरार रहेको र पछि विहिबार काठमाडौंमा पक्राउ गरी जनकपुर ल्याइएको तथ्यसमेत अदालतले उल्लेख गरेको छ। यो फैसला गत वर्षकै भए पनि उनी एक वर्षपछि पक्राउ परेको जनाइएको छ।

यस्तै दोस्रो प्रकरणमा जनकपुरधाम–१० कि सिता देवी साहको जाहेरीअनुसार महतोले २०७९ वैशाख १३ गते प्राइम बैंक लिमिटेड, जनकपुर शाखामा रहेको आफ्नो खाताबाट एक करोड २० लाख रुपैयाँको चेक जारी गरेका थिए। उक्त चेक सिद्धार्थ बैंक लिमिटेड, पुरानो बानेश्वर शाखामा पेश गर्दा खातामा पर्याप्त रकम नहुँदा पटक–पटक अनादर भएको थियो।

अदालतले विनिमेय अधिकारपत्र ऐन, २०३४ को दफा १०७(क) अनुसार कसूर ठहर गर्दै सिता देवी साहलाई एक करोड २० लाख रुपैयाँ र चेक काटिएको मितिदेखि वार्षिक १० प्रतिशत ब्याज समेत भराई पाउने आदेश दिएको छ। साथै प्रतिवादीलाई एक हजार रुपैयाँ जरिवाना तोकिएको छ। यो फैसला २०८१ चैत ५ गतेको हो।

तेस्रो प्रकरणमा जनकपुरधाम–५ का दिपेन्द्र कुमार दासले श्याम सुन्दर महतो र आइसा सेल्स ट्रेडिङ्ग प्रा.लि. विरुद्ध फिराद दायर गरेका थिए। फिरादअनुसार व्यक्तिगत सापटी वापतको रकम तिर्न महतोले ज्योति विकास बैंक लिमिटेड, बर्दिवास शाखामा रहेको आइसा सेल्स ट्रेडिङ्ग प्रा.लि. को खाताबाट एक करोड रुपैयाँको चेक दिएका थिए। उक्त चेक लुम्बिनी विकास बैंक लिमिटेड, जनकपुर शाखामा तीन पटक कलेक्सन गर्दा पनि खातामा पर्याप्त निक्षेप नरहेको कारण अनादर भएको थियो।

जिल्ला न्यायाधीश योगनाथ ढकालको इजलासले विनिमेय अधिकारपत्र ऐन, २०३४ को दफा १०७ र १०७(क) अनुसार कसूर ठहर गर्दै दिपेन्द्र कुमार दासलाई एक करोड रुपैयाँ र चेक अन्तिम पटक पेश गरिएको मितिदेखि बिगो भरिभराउ नहुँदासम्म वार्षिक १० प्रतिशत ब्याज सहित भराई पाउने आदेश दिएको छ। साथै महतोलाई एक हजार रुपैयाँ जरिवाना तोकिएको छ। यो फैसला २०८० चैत २० गतेको हो।
तीनै मुद्दामा महतो अदालतको म्यादमा उपस्थित नभई प्रतिउत्तर नफिराई म्याद गुजारी बसेको अदालतले स्पष्ट पारेको छ। खातामा कति रकम छ र कति रकमको चेक जारी गर्न सकिन्छ भन्ने विषय खातावालालाई अनिवार्य रूपमा थाहा हुनुपर्ने भन्दै, जानाजानी मौज्दात नहुँदा चेक जारी गर्नु गम्भीर कानुनी कसूर भएको अदालतको ठहर छ।

लगातार तीन ठूला चेक अनादर र बैंकिङ कसूर प्रकरणमा दोषी ठहर भइसकेपछि एमालेका मेयर प्रत्याशी श्याम सुन्दर महतोमाथि कानुनी संकट थप गहिरिएको देखिएको छ। प्रहरीले उनलाई विहिबार नै पक्राउ गरी जनकपुर ल्याएको प्रहरी स्रोतले बताएको छ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *