न्युज टाईम्स टिभी डेस्क – जनकपुरधाम, २०८२ बैशाख २९ गते
धनुषामा एक विवाह भोजको खाजापछि सय जना भन्दा बढी व्यक्ति बिरामी परेका छन्। खाजामा विषाक्त पदार्थ मिसिएको आशंका गरिएको छ। जनकपुरसहित विभिन्न अस्पतालमा बिरामीको उपचार भइरहेको छ।
धनुषाको मिथिला विहारी नगरपालिका–८, ठेरा कचुरीमा बिहे भोजको खाजापछि एकसाथ सय जना भन्दा बढी व्यक्ति बिरामी परेपछि स्थानीयवासी त्रसित बनेका छन्।
यो घटना नरेश महराको छोरीको विवाहको खाजापछि भएको हो। बिहीबार राति जनकपुरको बिन्धीबाट जन्ती आएका थिए। स्वयम्बर सकिएपछि खाजामा बुनियाँ, रसबरीजस्ता परिकार खुवाइएको थियो। तर खाजा खाएलगत्तै पेट दुख्ने, वान्ता आउने, र शरीर कमजोर हुने लक्षण देखिन थालेपछि स्थिति गम्भीर बन्दै गयो।
जिल्ला जनस्वास्थ्य प्रमुख डा. उमेश यादवका अनुसार, “खाजामा प्वाइजन भएको अनुमान गरेका छौं। हामीले स्याम्पल संकलन गरेर ल्याबमा परीक्षणको लागि पठाएका छौं। रिपोर्टपछि वास्तविक कारण खुल्नेछ।”
४५ जना भन्दा बढी बिरामीलाई जनकपुरस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ भने अन्य बिरामीहरूलाई नजिकका क्लिनिक र अस्पतालहरूमा उपचार भइरहेको छ। भोजमा खुवाइएका परिकारको परीक्षणपछि मात्र वास्तविक कारण खुल्ने छ।
यो घटनाले सामूहिक भोजमा खाद्य सुरक्षाको गम्भीर लापरवाही भएको देखाएको छ। अब हामी पर्खिरहेका छौं परीक्षण रिपोर्टको, जसले दोषी पत्ता लगाउनेछ।