जनकपुरधाममा सम्पन्न सभामा धर्मशाला निर्माणदेखि महिला सशक्तीकरणसम्मका योजना सार्वजनिक
न्युज टाईम्स टिभी डेस्क, जनकपुरधाम — हलवाई समाज सेवा समितिको १७औँ वार्षिक साधारण सभा २०८२ साल माघ १० गते शनिबार जनकपुरधाम उपमहानगरपालिका–२, धनुषामा भव्य रूपमा सम्पन्न भएको छ।
समितिका अध्यक्ष उमेश साहको अध्यक्षतामा सम्पन्न उक्त सभामा प्रमुख अतिथि रामानन्द चौप रहेका थिए। कार्यक्रममा संस्थापक उपाध्यक्ष दारस साह, कार्यकारिणी समितिका पदाधिकारी, सल्लाहकार, विभिन्न संघ–संस्थाका प्रतिनिधि, बुद्धिजीवी, पत्रकार तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति थियो।
वार्षिक प्रतिवेदन र उपलब्धि
सभामा महासचिव हरि नारायण गुप्ताले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समितिले विगत वर्ष सामाजिक एकता, जातीय सद्भाव र आर्थिक सहयोगलाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी गराए।
कोभिड–१९ महामारीका बेला राहत सामग्री वितरण, आर्थिक रूपमा कमजोर परिवारलाई सहयोग, निःशुल्क स्वास्थ्य उपचार तथा औषधि वितरण, धार्मिक तथा सामाजिक कार्यक्रममा स्वयंसेवक सेवा, तथा जनकपुरधाम महोत्सवजस्ता कार्यक्रममा पानी, खाजा र सेवा व्यवस्थापन गरिएको प्रतिवेदनमा उल्लेख छ।
भावी कार्ययोजना सार्वजनिक
सभामा समितिको आगामी कार्ययोजनाअन्तर्गत
- हलवाई समाज सेवा समिति धर्मशाला निर्माण
- महिलाहरूका लागि सिलाइ–कटाइ, ब्युटी पार्लर, मिथिला आर्टजस्ता सीपमूलक तालिम
- महिला सशक्तीकरणका लागि महिला मञ्च गठन
जस्ता कार्यक्रम अघि बढाउने निर्णय गरिएको छ।
समितिको लेखा परीक्षण सम्पन्न भइसकेको र नवीकरण प्रक्रिया अगाडि बढेको जानकारी पनि सभामा दिइयो।
एकता र सहकार्यमा जोड
कार्यक्रमको अन्त्यमा महासचिव गुप्ताले समितिको विकास एकता, सहकार्य र आपसी समझदारीबाट मात्र सम्भव हुने उल्लेख गर्दै कुनै पनि विवादलाई संवादमार्फत समाधान गर्न आग्रह गरे।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास प्रमुख अतिथिका रूपमा तथा उमेश साहको अध्यक्षतामा सम्पन्न उक्त सभामा समाजका अगुवा, बुद्धिजीवी, युवा, महिला तथा सर्वसाधारण सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।
सभामा बोल्दै प्रमुख अतिथि महन्थ राम रोशन दासले समाजको एकता, परम्परा संरक्षण र सामाजिक सेवामा समुदायको भूमिका महत्वपूर्ण रहेको बताए। उनले सामाजिक सद्भाव, नैतिकता र संस्कृतिको संरक्षणका लागि यस्ता संस्थागत गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
अध्यक्ष उमेश साहले समितिले विगत १७ वर्षदेखि शिक्षा, स्वास्थ्य, सामाजिक सहयोग र सांस्कृतिक संरक्षणका क्षेत्रमा योगदान गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा युवाहरूको नेतृत्व र सहभागिता बढाउने योजना रहेको राष्ट्रिय आवाज लाई बताए।
साधारण सभामा वार्षिक प्रतिवेदन, आय–व्यय विवरण प्रस्तुत गरिनुका साथै आगामी कार्ययोजना र नीतिगत विषयमा छलफल भएको थियो। सहभागी सदस्यहरूले समाजको सुदृढीकरण, आर्थिक पारदर्शिता तथा सामाजिक सेवाका कार्यक्रम विस्तार गर्न सुझाव दिएका थिए।
कार्यक्रमको अन्त्यमा आयोजक समितिले प्रमुख अतिथि, अतिथि तथा सहभागी सम्पूर्ण स्वजातीय बन्धुहरू लाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम समापन गरिएको थियो।

