मधेश प्रदेश : जेनजी प्रर्दशनकारीद्वारा सरकारी तथा नीजि सम्पतिमाथि तोडफोड तथा आगजनी !

जनकपुरधाम, ०८२ भदाै २५ गते । जेनजीको आन्दोलन ०८२ भदौ २४ गते मधेस प्रदेशका आठ ओटै जिल्लाका प्रमुख शहरहरुमा भएका छन् । विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले सरकारी तथा नीजि सम्पतिमासमेत तोडफोड र आगजनी गरेका छन् ।

इन्सेक धनुषा प्रतिनिधि सन्तोष कुमार यादवका अनुसार जनकपुरधाम उपमहानगरपालिका–९ स्थित रहेको नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्वमन्त्री रघुवीर महासेठको घरमा आन्दोलनकारीहरुले आगजनी गरेका छन् । त्यसैगरी जनकपुरधाम उपमहानगरपालिका–१ मिल्स एरियामा रहेको नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिको घरमा लगाइएको आगोले घरमा पार्किङ गरी राखिएको ज ३ प ९४३८ नम्बरको होण्डा साइन मोटरसाइकल जलेको रेल्वे स्टेशन प्रहरी चौकीका इन्चार्ज आयोधीप्रसाद यादवले बताउनु भयो ।

जनकपुरधाम उपमहानगरपालिका–१४ राजौल स्थित नेपाली काँग्रेसका नेता महेन्द्र यादवको घरमा तोडफोड गर्नुका साथै घरबाट समानहरु बाहिर निकालेर आगजनी गरेका छन् ।

प्रदर्शनकारीहरुले जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोक स्थित नेपाली काँग्रेसको मधेस प्रदेश कार्य समिति कार्यालयमा तोडफोड तथा आगजनी गर्नुको साथै कार्यालयभित्र रहेका फर्निचरका सामग्रीहरू बाहिर बाटोमा ल्याई आगजनी गरेका छन् ।

त्यसैगरी प्रर्दशनकारीहरुद्वारा मधेस प्रदेश सभाको भवन, मुख्य मन्त्रीको कार्यालय, मन्त्री क्वाटरमा समेत आगजनी गरिएको छ । प्रदर्शनकारीहरुले मधेस प्रदेश भवनस्थित मन्त्रालयमा रहेका दर्जनौ गाडीहरुमा आगजनी गरेका छन् ।

प्रदेशनकारीहरुले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा पनि आगजनी गरेका छन् । त्यसैगरी विदेह नगरपालिकाको कार्यालय भवनमा समेत आगजनी गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलिया स्थित यातायात कार्यालयमा पार्किङ गरी राखिएको गाडी र कार्यालय प्रमुख बस्ने कोठामा प्रर्दशनकारीहरुले आगजनी गरेका छन् भने जनकपुर भन्सार कार्यालयमा राखिएका मोटरसाइकल, जिप, ट्रक, कपडा, खाद्यान्न सामग्री लगायत कार्यालय भित्रका फर्निचरका सामानहरूमा आगजनी गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका–१० स्थित जानकी प्रहरी चौकीमा प्रहरीहरू बस्ने कोठामा आन्दोलनकारीहरूले आगजनी गरेका छन्।

प्रर्दशनकारीहरुले ट्राफिक कार्यालय जनकपुरमा पनि आगजनी गरेका छन् । सरकारी कार्यालयहरुमा तोडफोड सुरु भएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले भदौ २४ गते बेलुकी ३ बजेदेखि २५ गते बिहान ७ बजेसम्म कफ्र्यु आदेश जारी गरेपनि प्रर्दशनकारीहरुले आदेशको उल्लङ्घन गर्दै प्रर्दशन गरेका थिए ।

इन्सेक सप्तरी प्रतिनिधि नविन यादवका अनुसार राजविराज नगरपालिका–४ स्थित जनता समाजवादी पार्टी कार्यालय र जनमत पार्टी कार्यालयमा जेनजी समर्थकले ढुङ्गामुढा गरेका छन् । राजविराज नपा–४ स्थित राजविराज नगरपालिका भवन कार्यालयमा ढुङ्गामुढा गर्नुका साथै पालिकामा पार्किंग गरी राखेको दुई ओटा स्कारपियो, दुई ओटा मोटरसाइकल, एक ओटा ट्रयाक्टरमा आगजनी गरिएको छ ।

त्यस्तै राजविराज नगरपालिका–७ स्थित जिल्ला अदालत राजविराजमा ढुङ्गामुढा सहित दुई ओटा सरकारी गाडीमा आगजनी तथा तोडफोड गरिएको छ । राजविराज नगरपालिका–७ स्थित जिल्ला समन्वय समितिको एक ओटा बस र एक ओटा स्कारपियो गाडीमा आगजनी सहित कार्यालयमा तोडफोड गरिएको छ ।

त्यसैगरी राजविराज नगरपालिका–७ स्थित जिल्ला वन डिभिजन कार्यालय, करदाता कार्यालय र मालपोत कार्यालयमा प्रदर्शनकारीहरुले ढुङ्गामुढा सहित तोडफोड गरेका छन् । त्यसैगरी राजविराज नगरपालिका–७ स्थित शहरी सदन तथा भवन निर्माण आयोजना कार्यालय तोडफोड लगायत स्कारपियो पाँच ओटा र मोटरसाइकल ६ ओटामा आगजनी गरिएको छ ।
राजविराज नगरपालिका–८ स्थित एमाले पार्टी कार्यालयमा प्रदर्शनकारीहरुले ढुङ्गामुढा गर्नुका साथै आगजनी र तोडफोड गरेका छन् । त्यस्तै राजविराज नगरपालिका–५ स्थित राजविराजमा प्रदर्शनकारीहरुले पूर्व शिक्षा मन्त्री उमेश यादवको घर र गाडीमा ढुङ्गामुढा गरेका छन् ।

इन्सेक सिराहा प्रतिनिधि दुर्गा परियारका अनुसार प्रदर्शनकारीहरुले जिल्ला सदरमुकाम सिरहा तथा लहानका सरकारी कार्यालयहरुमा आगजनी गरेका छन् । जिल्ला अदालतको अभिलेख शाखामा प्रदर्शनकारीहरुले अपरान्ह आगजनी गरेका छन् । उनीहरुले त्यसअघि लहान नगरपालिका–८ स्थित घण्टाघर नजिकै रहेको नापी कार्यालय, आन्तरिक राजश्व कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयमा आगजनी गरेका थिए । प्रदर्शनकारीहरुले डिभिजन वन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । प्रदर्शनकारीहरुले घरेलु कार्यालयको बा १ ब ८९९८ नम्बरको मोटरसाइकलसहित कार्यालय भवनमा आगजनी गरे । प्रदर्शनकारीहरुले लहान नगरपालिका–१ स्थित पूर्व पश्चिम राजमार्गसँगै रहेको इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा ढुङ्गामुढा गरेका थिए ।

यसैबिच पूर्व पश्चिम सडकसँगै जोडिएको लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा राखिएको चिनी र चामल लुटपाट गरिएको छ । एक कर्मचारीका अनुसार चामल, चिनी लुटपाटसँगै कार्यालयको चार पाङ्ग्रे सवारी साधन र कार्यालयमा आगजनी भएको छ ।

प्रदर्शनकारीहरुले नेकपा एमालेका संघीय सांसद तथा पूर्व मन्त्री समेत रहेका चोहर्वा घर भएका लिलानाथ श्रेष्ठ र उनका भाई गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठको घरमा पनि तोडफोड गरेका छन् । त्यसैगरी प्रदर्शनकारीहरुले गोलबजार नगरपालिका–६ मा रहेको मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहको घरमा समेत आगजनी गरेका छन् ।

प्रर्दशनकारीहरुले लहान, मिर्चैया नगरपालिका, नरहा र भगवानपुर गाउँपालिका तथा वडा कार्यालयहरुमा आगजनी तथा तोडफोड गरेका छन् ।

महोत्तरी जिल्लाबाट ममता विश्वकर्माले दिएको जानकारी अनुसार बर्दिबास नगरपालिका–१४ स्थित मुख्य चौकमा रहेको पावन मिथिला होटलमा जेनजी समूहले भदौ २४ गते साँझ आगजनी गर्दा सो होटलमा काम गर्ने लेखापाल ४० वर्षीय प्रदीप महतो जलेर गम्भीर घाइते भएका छन् ।

घाइते महतोलाई प्रारम्भिक उपचारका लागि तत्कालै स्थानीय सुभ स्वस्तिक अस्पतालमा लगिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जानकारी दिएको छ । अवस्था गम्भीर बनेपछि थप उपचारका लागि उनलाई काठमाडौँ लगिएको महोत्तरीका डिएसपि सर्बेन्द्र कुमार भट्टले बताउनु भयो ।

जिल्ला सदरमुकाम जलेश्वरमा दिनभर शान्तिपूर्ण प्रर्दशन रहेतापनि साँझ अनियन्त्रित बनेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सर्वेन्द्र कुमाार भट्टले जानकारी दिनु भयो । प्रदर्शनकारीहरुको भिडले जलेश्वर कारागारमा तोडफोड गरेको कारण कारागारमा रहेका ५ सय ७६ जना कैदी भागेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बताउनु भयो ।

मधेस प्रदेश भौतिक तथा पूर्वाधार मन्त्री सरोजकुमार यादवको बर्दिबास स्थित निवासमा तोडफोड गरिएको छ भने पिपरा गाउँपालिकाको भवनमा समेत प्रर्दशनकारीहरुले तोडफोड गरी क्षति पु¥याएका छन् ।

इन्सेक सर्लाही प्रतिनिधि बुधन साहका अनुसार प्रदर्शनकारीहरुको भिडले बिहान लालबन्दी नगरपालिका कार्यालयमा आगजनी गरेका छन् । भिडले नगरपालिका कार्यालय सहित कार्यालय परिसरमा रहेको स्काभेटर लगायतमा आगो लगाए । त्यस्तै नवलपुर चोकस्थित पार्क लगायत स्थानमा प्रदर्शनकारीहरुले तोडफोडसहित आगजनी गरेका छन् । प्रदर्शनकारीले जिल्ला सदरमुकाम मलंगवामा रहेको नेपाली काँग्रेस र एमाले पार्टी कार्यालयमा आगजनी तथा तोडफोड गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा समेत प्रर्दशनकारीहरुले तोडफोड गरेका छन् । तोडफोडमा संलग्न रहेको आरोपमा स्थानीय २८ वर्षीय चन्दन कुमार सिंह र २१ वर्षीय बिक्कि जयसवाललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रर्दशनकारीहरुले मलंगवा, हरिवन, बरहथवा र इश्वरपुर नगरपालिकामा समेत तोडफोड गरेका छन् । कृषि ज्ञान केन्द्र मलंगवा र जिल्ला कारागारमा समेत तोडफोड गरिएको छ ।

इन्सेक रौतहट प्रतिनिधि गौरी न्यौपानेका अनुसार जेनजीको प्रदर्शनका क्रममा प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको गाडिमा आगजनी गरेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर घेराउ गरेर जेनजीले प्रदर्शन गर्न थालेपछि प्रहरीले दर्जनौं राउण्ड हवाई फायर र अश्रु ग्याँस प्रहार गरेको थियो । प्रदर्शन हिंसात्मक हुन् नदिन प्रहरीले संयमता अपनाएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रुपा लाबुंगले जानकारी दिनु भयो ।

इन्सेक पर्सा प्रतिनिधि तुलसी भण्डारीका अनुसार प्रर्दशनकारीहरुद्वारा वीरगञ्ज उपमहानगरपालिका कार्यालय परिसर भित्रका सबै सवारी साधन जलाइएका छन् । नारायणी अस्पतालमा समेत तोडफोड गरिएको छ । वीरगञ्ज महानगरपालिकाको कार्यालय, नेपाली काँग्रेस, नेकपा एमाले पर्साको पार्टी कार्यालय, नेपाल टेलिकमको घण्टाघर वीरगञ्ज स्थित कार्यालय, घरिअर्वामा रहेको कर कार्यालय, पूर्वखानेपानी मन्त्री एवं जसपा नेता प्रदिप यादवको राधेमाईस्थित घर, पूर्व कानुनमन्त्री एवं नेपाली काँग्रेसका नेता अजय कुमार चौरसियाको ओमआश्रम स्थित घर, पूर्व संघीय मामिला तथा समान्य प्रशासन मन्त्री नेकपा एमालेका नेता राजकुमार गुप्ताको ओमआश्रम स्थित घर, घण्टाघर स्थित नेपाल प्रहरी विट, माइस्थान स्थित प्रहरी विट, वीरगञ्ज महानगरपालिका मेयर राजेशमान सिंहको प्रगतिनगर स्थित घर, मधेस प्रदेशका पूर्व मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीको घर, वीरगञ्जको पावर हाउस स्थित नेपाली काँग्रेसका नेता अनिल रूगटाको घरमा तोडफाड र आगजनी गरिएको छ ।

स्रोत : इन्सेक

फोटोफिचर ..

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *