जनकपुरधाम। मुखियापट्टी मुसहरनिया गाउँपालिका र आसमान नेपालको बोर्ड द्वारा संयुक्त रूपमा बिहिबार सो गाउँपालिकाभित्रका ६ वटा विद्यालयमा अनुगमन गरिएको छ।
२०२५ डिसेम्बर महिनाको अन्त्यमा संयुक्त अनुगमन टोलीले एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रमा वर्षभरि सम्पन्न गरिएका कार्य, उपलब्धि तथा सिकाइका कामकाजको सहित बिधालयमा शैक्षिक सुधार होस् भने उदेश्यले अनुगमन गरिएको परियोजना संयोजक उमेश मण्डलले जानकारी दिए।
अनुगमन गरिएका विद्यालयहरूमा श्री बैधनाथ देव नारायण जनता नमुना माध्यमिक विद्यालय–४, श्री राष्ट्रिय प्राथमिक विद्यालय तुलसियाही जगदी–३, श्री राष्ट्रिय माध्यमिक विद्यालय मुसहरनिया–१, श्री राष्ट्रिय प्राथमिक विद्यालय बेला–५, श्री राष्ट्रिय माध्यमिक विद्यालय लक्ष्मीपुर–६ तथा श्री राष्ट्रिय प्राथमिक विद्यालय नवटोली बहेडा–५ रहेका छन्। सो पालिकामा आसमान नेपालले ११ वटा बिधालयमा काम गरिरहेको छ।
अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष जय कुमार यादव, शिक्षा शाखा प्रमुख राम पुकार दास, आसमान नेपालका परियोजना संयोजक उमेश मण्डल, कार्यसमिति कोषाध्यक्ष रेखा यादवलगायत सम्बन्धित कर्मचारीहरूको सहभागिता रहेको थियो।
