कटहरिया–४ टोलापुरमा निःशुल्क आँखा शिविर सम्पन्न, २६० जनाको जाँच, ५५ जनाको मोतिबिन्दु अपरेसनको व्यवस्था !


दिपेश कुमार शाह ,रौतहट — कटहरिया नगरपालिका वडा नं. ४, टोलापुरमा तिलगंगा आँखा अस्पताल, निजगढको समन्वयमा शुक्रबार एकदिने निःशुल्क आँखा जाँच तथा उपचार शिविर सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय जनताको स्वास्थ्य सेवामा पहुँच बढाउने उद्देश्यले आयोजना गरिएको उक्त शिविरबाट ठूलो संख्यामा सेवाग्राही लाभान्वित भएका छन्।
शिविरमा कटहरिया नगरपालिका वडा नं. ४ सहित आसपासका क्षेत्रबाट आएका जम्मा २६० जना ले आँखा जाँच गराएका थिए। जाँचका क्रममा आँखासम्बन्धी विभिन्न समस्या पहिचान गरिएको थियो भने ५५ जना बिरामीमा मोतिबिन्दु (क्याटार्याक्ट) समस्या पुष्टि भएको थियो। मोतिबिन्दु ठहर भएका ती बिरामीहरूका लागि निःशुल्क शल्यक्रिया (अपरेसन) को व्यवस्था मिलाइएको छ। उक्त अपरेसन तिलगंगा आँखा अस्पताल, निजगढमा गरिनेछ।
वडा कार्यालयको पहलमा मोतिबिन्दु भएका बिरामीहरूलाई अस्पतालसम्म पुर्‍याउने व्यवस्थासमेत गरिएको थियो। आर्थिक अवस्था कमजोर भएका, वृद्ध तथा विपन्न वर्गका नागरिकहरूका लागि यो शिविर अत्यन्तै उपयोगी र राहतदायी बनेको स्थानीयहरूको भनाइ छ। उपचारको अवसर पाएपछि बिरामी तथा उनका आफन्तहरूले खुसी व्यक्त गरेका छन्।
शिविरबाट लाभ लिएका बिरामीहरूले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै वडा अध्यक्ष चन्दन कुमार कुशवाहाप्रति विशेष धन्यवाद व्यक्त गरेका छन्। स्थानीयस्तरमै यति प्रभावकारी स्वास्थ्य कार्यक्रम आयोजना हुनु सकारात्मक र प्रशंसनीय भएको उनीहरूको प्रतिक्रिया रहेको छ।
स्थानीय बासिन्दाहरूले पनि शिविर सफल भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा यस्ता निःशुल्क स्वास्थ्य शिविरहरू नियमित रूपमा सञ्चालन गर्न माग गरेका छन्। उनीहरूका अनुसार आँखाको समस्या भए पनि आर्थिक अभावका कारण उपचार गराउन नसक्ने अवस्था धेरैको रहेको हुँदा यस्ता कार्यक्रमले जनताको जीवनस्तर सुधार्न ठूलो योगदान पुर्‍याउँछ।
वडा अध्यक्ष चन्दन कुमार कुशवाहाले जनस्वास्थ्यलाई प्राथमिकतामा राख्दै भविष्यमा पनि विभिन्न स्वास्थ्य सचेतना तथा उपचारसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले तिलगंगा आँखा अस्पताल, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा शिविर सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो।
निःशुल्क मोतिबिन्दु अपरेसनको अवसरले विशेषगरी ज्येष्ठ नागरिकहरूलाई ठूलो राहत मिलेको भन्दै स्थानीयहरूले यस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको जानकारी दिए ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *