न्युज टाईम्स टिभी डेस्क – पर्सा । पर्साको बहुदरमाई नगरपालिका–२, सिसियाडी टोलमा दलित समुदायका युवकको घरमा आगजनी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
गत मंसिर २७ गते २२ वर्षीय कविर पासवानको घरमा आगजनी गरेको अभियोगमा सोही स्थानका ६० वर्षीय भुवाली प्रसाद यादवलाई पुस १२ गते पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ।
बाटो विस्तारका क्रममा भएको विवादपछि पासवानको घरमा आगजनी गरिएको बताउँदै घटनामा संलग्न यादवसहित चार जनाविरुद्ध पीडितले सोही दिन उजुरी दिएको इलाका प्रहरी कार्यालय पोखरियाका इन्स्पेक्टर प्रदीप पौडेलले जानकारी दिए। अन्य अभियुक्तहरूको खोजी कार्य जारी रहेको उनले बताए ।
घटनापछि दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, आयोगका प्रवक्ता सुन्दर कुर्कुटी, नेपाल दलित सञ्जाल पर्साका अध्यक्ष परमानन्द राम र दलित फाउन्डेशनका सुरेन्द्र पासवानसहितको संयुक्त टोलीले घटनास्थलको स्थलगत अनुगमन गरेको गरेको इन्सेक पर्सा प्रतिनिधि तुलसी भण्डारीले जानकारी दिए ।
