धनुषा । जिल्ला ट्राफिक प्रहरी कार्यालय जिरोमाईल, धनुषाका कार्यालय प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाही उत्कृष्ट कार्यसम्पादन, परिणाममुखी नेतृत्व र कर्तव्यनिष्ठाका आधारमा मंसिर महिनाको ‘BEST TRAFFIC POLICE OF THE MONTH’ अवार्डबाट सम्मानित हुनुभएको छ।
प्रहरी निरीक्षक शाहीले जिम्मेवारी सम्हालेपछि धनुषा जिल्लाको ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार आएको छ। उहाँको सक्रियता, कडाइ र नविन सोचका कारण सडकमा सुरक्षित सवारी आवागमन सुनिश्चित हुनुका साथै स्थानीयवासीहरूको सन्तुष्टि समेत बढेको छ।
जनकपुरधामको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने उद्देश्यले उहाँकै पहलमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको गेटमा LED डिस्प्ले बोर्ड जडान, ४३ थान CCTV क्यामेरा स्थापना, तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘दुई मिनेट ट्राफिक सचेतना कार्यक्रम’ सञ्चालन गरिएको छ। उक्त कार्यक्रममार्फत विद्यार्थी, अभिभावक, चालक–सहचालक, ई–रिक्सा व्यवसायी तथा सडक प्रयोगकर्ताहरूलाई व्यवहारिक ट्राफिक शिक्षा प्रदान गरिएको छ।
त्यसैगरी, मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी साधन चलाउने चालकहरूविरुद्ध कडा कानुनी कारबाही, दुर्घटनाको उच्च जोखिम रहेका ब्ल्याक स्पट पहिचान गरी रिफ्लेक्टिभ बोर्ड, टेप तथा सूचनामूलक ट्राफिक संकेत जडान, साथै विभिन्न VVIP तथा VIP सवारी व्यवस्थापन प्रभावकारी रूपमा सञ्चालन गर्दै उहाँले ट्राफिक प्रहरीको छवि थप सबल बनाउनुभएको छ।
धार्मिक तथा पर्यटकीय केन्द्र जनकपुरधाममा आयोजना हुने मेला–पर्व तथा श्री सीताराम विवाह पञ्चमी महामहोत्सव जस्ता ठूला कार्यक्रममा सुव्यवस्थित ट्राफिक व्यवस्थापन गरी प्रहरी निरीक्षक शाहीले आफ्नो उच्च व्यवस्थापकीय क्षमता र कार्यकुशलता प्रमाणित गर्नुभएको छ।
यसका साथै, धनुषाधाम नगरपालिका–७, धारापानीमा ट्राफिक प्रहरीका लागि ०–१२–३–० जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा पुर्याउनु उहाँको अर्को महत्वपूर्ण उपलब्धि मानिएको छ।
उहाँका यी उल्लेखनीय कार्यहरूको कदरस्वरूप प्रहरी नियमावली, २०७१ (संशोधन सहित) बमोजिम रु. १,३०० नगद पुरस्कारसहित अभिलेखमा जनिने गरी नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयद्वारा मंसिर महिनाको ‘BEST TRAFFIC POLICE OF THE MONTH’ अवार्ड प्रदान गरिएको हो।
स्थानीयवासीहरूका अनुसार प्रहरी निरीक्षक शाही आएपछि धनुषामा सवारी यात्रा सुरक्षित मात्र नभई सहज र अनुशासित समेत बनेको छ।
“अहिले सडकमा ट्राफिक प्रहरी देख्दा डर होइन, भरोसा महसुस हुन्छ,” स्थानीयवासीहरूको प्रतिक्रिया छ।
