मधेस प्रदेशमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान विविध कार्यक्रम जोरशोरले मनाइयो !

न्युज टाईम्स टिभी डेस्क – जनकपुरधाम, ११ मंसिर २०८२, बिहिवार
मधेस प्रदेशका विभिन्न जिल्लाहरूमा “प्रविधिको सही प्रयोग गरौँ : लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने नारासहित ३४ औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मङ्सिर ९ गते विविध जनचेतनामूलक गतिविधिसहित मनाइएको छ।

धनुषामा स्वास्थ्य शिविर र सचेतना कार्यक्रम
इन्सेक धनुषा प्रतिनिधि सन्तोषकुमार यादवका अनुसार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर ९ गते विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरधामको जानकी मन्दिर प्राङ्गणमा लैङ्गिक हिंसा विरुद्ध सचेतना अभियानसँगै निःशुल्क स्वास्थ्य शिविर र खानेपानी वितरण कार्यक्रमको आयोजना गरिएको छ ।
लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), शान्ति पुर्नस्थापना गृह, आपन्त नेपाल, मानव अधिकारका लागि महिला एकल महिला समूह, एकद्वार संकट व्यवस्थापन केन्द्र, हामी दाजु भाइ, दिव्य विकास केन्द्र, लाइफ नेपाल र माइती नेपाल लगायत संस्थाको संयुक्त आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले विवाह पञ्चमी जस्ता पर्वहरूमा समुदायलाई स्वास्थ्य सेवा र सरसफाइ सुविधा उपलब्ध गराउने मात्र नभई लैङ्गिक हिंसाबारे सचेतना फैलाउने उद्देश्य राखिएको बताउनु भयो । उहाँले भन्नु भयो–“यस्तो कार्यक्रमले सकारात्मक सन्देश फैलाउँछ र समानता र सुरक्षा सुनिश्चित गर्न मद्दत पु¥याउँछ ।”
कार्यक्रमले लैङ्गिक हिंसाबारे सचेतना फैलाउने र स्वास्थ्य सेवासहित खानेपानीको पहुँच सुनिश्चित गर्ने उद्देश्य राखेको उहाँले बताउनु भयो ।

महोत्तरीमा प्रभातफेरी तथा कोणसभा
महोत्तरीको जलेश्वर नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत जिल्ला सदरमुकाम जलेश्वरमा मङ्सिर ९ गते बिहान प्रभात फेरी कार्यक्रमको आयोजना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जलेश्वर नगरपालिका, इन्सेक, महिला मानव अधिकार रक्षक सञ्जाल, महिला सचेतना केन्द्र, रतौली युवा क्लव र ओरेक लगायत संस्थाको संयुक्त आयोजनामा जलेश्वर नगरपालिकामा निकालिएको प्रभातफेरी शङ्कर चौकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
कोण सभामा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले समाजमा महिला हिंसा विरुद्धको बहस तथा अभियान सुरु गरिएपनि महिलामाथि हुने हिंसाका घटनाहरु न्युनिकरणको पाटो भने अझैसम्म सन्तोषजनक नरहेको बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी हेरम्ब शर्माले समाजमा विद्यमान कुरीति र कुसंस्कारका कारण महिलामाथिको हिंसा भइरहेको उल्लेख गर्नु हुँदै महिला हिंसा विरुद्ध सचेतनाका लागि सबैको साझेदारी निरन्तर आवश्यक रहेको बताउनु भयो ।
इन्सेक मधेस प्रदेशकी प्रलेख अधिकृत ममता विश्वकर्माले महिलाहरु हरेक दिन दाइजो, बोक्सीको आरोप, बलात्कार तथा घरेलु हिंसाको घटनामा पीडित भइरहेकोले यस्ता घटना न्युनीकरणका लागि सरोकारवाला निकाय गम्भीर हुन आवश्यक रहेको बताउनु भयो ।
महिला मानव अधिकार रक्षक सञ्जाल महोत्तरीकी रेखा झाले महिलामाथि हिंसा गर्ने व्यक्ति, कुसंस्कार र कुप्रथालाई बहिष्कार गर्नु पर्नेमा जोड दिनु भयो । महिला सचेतना केन्द्रकी साधना बर्माले लैङ्गिक हिंसाको न्यूनिकरणका लागि मानव अधिकारका क्षेत्रमा कार्यरत संघ संस्थाहरूले स्थानीय सरकारसँग समन्वय र सहकार्य गरी जनचेतनामूलक अभियानहरु सञ्चालन गर्नुपर्ने धारणा राख्नु भयो।

सिरहामा र्‍याली र अन्तरक्रिया
इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत मङ्सिर ९ गते बिहान सिरहा सदरमुकाममा ¥याली तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
सिरहा नगरपालिका, इन्सेक, मुक्ति नेपाल, दलित जनकल्याण यूवा कल्ब, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, प्रदेश युवा सञ्जाल, सिएमसी नेपाल, सहयोगी हातहरु, महिला मानव अधिकार रक्षक सञ्जाल, मानव अधिकार एलाइन्स लगायत संस्थाहरुको संयुक्त आयोजनामा निकालिएको ¥याली पछि अन्तरक्रिया कार्यक्रममा परिणता भएको थियो ।
कार्यक्रममा सिरहा नगरपालिकाका नगर प्रमुख डा. नविनकुमार यादवले लैङ्गिक हिंसा न्युनिकरणका लागि नेपालमा धेरै कानुनहरु बनेको उल्लेख गर्नुहुँदै बनेका कानुन कार्यान्वयनको लागि संघ संस्थाहरुले सचेतनाका कार्यहरु गरिरहेको बताउनु भयो । महिलामाथि हुने हिंसाहरु घरबाटै र महिलाबाटै सुुरु हुने बताउनु हुँदै समस्या घरबाटै सुरु हुने हुँदा समाधान पनि घरबाटै सुरु गर्नुपर्नेमा उहाँले जोड दिनु भयो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी अन्नतराम शर्माले हिंसा विरुद्धको अभियान १६ दिन मात्रै नगरेर ३ सय ६५ दिन सञ्चलन गर्नु पर्नेमा जोड दिनु भयो । कानुन र नीतिहरु सबै ठिक बनाएपनि समाजको नियत र कार्यान्वयन गर्ने पक्षको नियत खराब भएकोले हिंसा बढी भइरहेको उहाँले बताउनु भयो ।
मुक्ति नेपालकी अध्यक्ष देवकुमारी महराले मिराबिल परिवारकी तीन जना दिदी बहिनीले महिला अधिकारको आवाज उठाउँदा तानाशाहहरुले हत्या गरेको दिनको सम्झनामा यो दिवश मनाउन सुरु गरिएको बताउनु भयो । यो दिवश १६ दिनसम्म मात्र मनाएर नपुग्ने भएकोले सबैले सधैँ आफ्नो ठाउँबाट हिंसा अन्त्यको लागि अभियान सञ्चालन गर्नुपर्ने बताउनु भयो ।

सर्लाहीमा अन्तरक्रिया कार्यक्रम
इन्सेक सर्लाही प्रतिनिधि बुधन साहका अनुसार महिला हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ मलंगवा नगरपालिका–२ स्थित श्री पब्लिक माध्यमिक विद्यालयमा मङ्सिर ९ गते अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सुरु गरिएको छ ।
मलंगवा नगरपालिकाको आयोजना र इन्सेक, मुक्ति नेपाल, आशिस सामाजिक सेवा नेपाल, एनसिई, रोयम नेपाल, जिल्ला प्रहरी कार्यालय, मानव अधिकार रक्षक सञ्जाल र ओरेक लगायत संस्थाहरूको समन्वयमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
मलंगवा नगरपालिकाका बालिबालिका तथा महिला अधिकृत नगिना यादवले जनचेतनामुलक विभिन्न कार्यक्रमहरू नगरपालिकाले बनाएको र संघसंस्थाको सहयोगमा महिला हिंसा विरुद्धको अभियान सुरु गरिएको बताउनु भयो ।
मलंगवा नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत होमप्रसाल घिमिरेले लैङ्गिक हिंसा विरुद्ध कानुन कार्यान्वयनका लागि संघसंस्थाहरूले सचेतनाका धेरै कामहरू गर्दै आइरहेको बताउनु भयो । महिलामाथि हुने हिंसा अन्त्यका लागि देशमा कानुनी शासन आवश्यक रहेको उहाँले जोड दिनु भयो ।

रौतहटमा र्‍याली र कोणसभा
इन्सेक रौतहट प्रतिनिधि गौरी न्यौपानेका अनुसार जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र गरुडा, लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल र गरुडा नगरपालिकाको आयोजनामा र इन्सेक, ग्रामीण विकास केन्द्र नेपाल, गुजरा युवा क्लब, संरक्षण नेपाल, आसमान नेपाल लगायत संस्थाहरुको समन्वयमा गरुडा बजारमा ¥याली तथा कोण सभाको आयोजना गरिएको छ ।
कोण सभालाई गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी कलवार जैसवालले सम्बोधन गर्नु हुँदै महिला माथि हुने सबै प्रकारका हिंसाको अन्त्यका गर्नका लागि आफू लाग्ने र पालिका मातहतका वडाहरुले पनि आफ्नो वडाहरुमा हिंसा हुन नदिन जनचेतनामुलक कार्यक्रम गरी जागरुक बनाउन निर्देशन दिने प्रतिबद्धता जनाउनु भयो ।
महिला हिंसा अन्त्यका लागि अभियान मनाइरहदा आफ्नै सासु, ससुरा र घरपरिवारका सदस्य मिली एक महिलाको हत्या गरी शव घर भित्रै खाल्डो खनी गाडेको अवस्थामा प्रहरीले फेला पारेको उल्लेख गर्नु हुँदै महिला आफ्नै परिवारबाट पनि सुरक्षित हुन नसक्नु दुःखद भएको उहाँले बताउनु भयो । हत्या घटनाका आरोपितलाई हदैसम्मको कारबाही गर्न प्रहरी प्रशासनसँग उहाँले कार्यक्रम स्थलबाटै अनुरोध गर्नु भयो ।

पर्सामा प्रभातफेरी र कोणसभा
इन्सेक पर्सा प्रतिनिधि तुलसी भण्डारीका अनुसार मधेस प्रदेश खेलकुद तथा समाजकल्यण मन्त्रालयको आयोजना र इन्सेक, लाइफ नेपाल, कायापलट, दिव्य श्रोत केन्द्र, पिपुल इन निड, युएनएफपिए, माइती नेपाल लगायत संस्थाको समन्वयमा मङ्सिर ९ गते बिहान वीरगञ्जको घण्टाघरबाट शुभारम्भ गरिएको प्रभातफेरी ¥याली आदर्शनगर, लोहारपट्टी र गीता मन्दिरहुँदै पुनः घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुभारम्भ कोण सभालाई सम्बोधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले लैङ्गिक हिंसाका घटना न्युनिकरण गर्नका लागि यस्तै अभियानहरु सञ्चालन गर्नु पर्ने उल्लेख गर्नु हुँदै यसका लागि सबै सरोकारवाला निकायहरुको समन्वय आवश्यक रहेको बताउनु भयो ।

यदपि, मधेस प्रदेशका जिल्लाहरूमा आयोजित कार्यक्रमहरूले लैङ्गिक हिंसाविरुद्ध जनचेतना, कुसंस्कार र कुरीतिसँग अन्त्य, कानुनी कार्यान्वयनको माग, महिला तथा बालबालिकाको सुरक्षा, समुदाय–संस्थाको साझा जिम्मेवारी जस्ता विषयलाई प्राथमिकताका साथ उठाएका छन्।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *