रत्नसागर मन्दिरको ५ बिघा गुठी जग्गा अतिक्रमणको आरोप, स्थानीयवासीद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र !

जनकपुरधाम, धनुषा — जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ का स्थानीयवासी तथा सचेत नागरिकहरूले ऐतिहासिक तथा धार्मिक महत्व बोकेको रत्नसागर मन्दिरको करिब ५ बिघा गुठी जग्गा अतिक्रमण भइरहेको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय, धनुषामा ज्ञापन पत्र बुझाएका छन्।

स्थानीयवासीहरूको भनाइअनुसार वडा नं. १४ रजौलस्थित उक्त जग्गा केही भू–माफियाहरू र मन्दिरकै जिम्मेवार पदाधिकारी (म्यानेजर) को मिलेमतोमा गैरकानुनी रूपमा प्लटिङ, संरचना निर्माण तथा बेचबिखन गर्ने प्रयास भइरहेको छ। यसले धार्मिक आस्थामाथि चोट पुग्नुका साथै सार्वजनिक सम्पत्तिको संरक्षणप्रति गम्भीर चुनौती सिर्जना गरेको उनीहरूको दाबी छ।

ज्ञापन पत्रमार्फत उनीहरूले तत्काल सबै प्रकारका निर्माण तथा गतिविधि रोक्न, भू–माफिया र सम्बन्धित पदाधिकारीबीचको आर्थिक चलखेलबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न, दोषीमाथि कडा कानुनी कारबाही गर्न तथा उक्त जग्गा पुनः रत्नसागर मन्दिरकै नाममा सुरक्षित राख्न माग गरेका छन्।

स्थानीयवासीहरूले शान्तिपूर्ण रूपमा माग राख्दा समेत बेवास्ता गरिए कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएका छन्। आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने उनीहरूको भनाइ छ।

उक्त ज्ञापन पत्रको बोधार्थ मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालय, गृह तथा कानुन मन्त्रालय, भूमि व्यवस्था तथा मालपोत कार्यालय, जनकपुरधाम उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, गुठी संस्थान, नापी कार्यालय, भूमि आयोग, जिल्ला समन्वय समिति तथा सञ्चारकर्मीहरूलाई समेत दिइएको छ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *