न्युज टाईम्स टिभी डेस्क -जनकपुरधाम , २०८३ मंसिर १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश जनकपुरधाम नगरका सभापति ललन कुमार नायकले २०८३ मंसिर १० गते औपचारिक रूपमा पद र पार्टी दुवै परित्याग गरेका छन्। आफ्नो व्यक्तिगत फेसबुक भिडियोमार्फत उनले रास्वपा नेपालभर सुदृढ हुँदै गएको भए पनि आफू जनकपुरधाम उपमहानगरपालिकाको नगर सभापति र पार्टीको साधारण सदस्य नरहने गरी आजैको मितिदेखि पार्टी त्याग गरेको घोषणा गरेका हुन्।
नायकले भिडियोमार्फत पद छाड्नुका कारणहरू सार्वजनिक गर्दै अबको राजनीतिक यात्रा स्वतन्त्र रूपमा अघि बढाउने बताएका छन्। साथै उनले धनुषा क्षेत्र नम्बर ४ का जनताहरूलाई आगामी निर्वाचनमा नेकपा एमाले, माओवादी, जसपा, कांग्रेसजस्ता ठूला दलका नेताभन्दा स्वतन्त्र र सक्षम युवालाई प्राथमिकता दिन आग्रह पनि गरेका छन्।
रास्वपाको संगठन जनकपुरधाम उपमहानगरपालिका तथा धनुषा जिल्लाभर कमजोर रहेकै समयदेखि करीब दुईदेखि डेढ वर्षअघिबाट नायक सक्रिय रूपमा संगठन विस्तारमा होमिएका थिए। यस क्रममा उनी प्रभावशाली युवा नेताका रूपमा परिचित हुँदै आएका थिए।
उनी आफूले पार्टीभित्र भोगेका अनुभव, संघर्ष र पछिल्ला घटनाक्रम जनसमुदायसमक्ष खुलाउँदै अबको यात्रामा स्वतन्त्र ढंगले धैर्य, पारदर्शिता र जवाफदेहिताको मोडेललाई अघि बढाउने बताएका छन्।
यस विषयमा रास्पाका धनुषा जिल्ला अध्यक्ष लक्ष्मेश्वर यादवले न्युज टाइम्स टिभीसँग कुरा गर्दै भने नगर सभापतिले रजिनामा दिएको कुरा आफूलाई अधिकारिक रूपमा कुनै जानकारी नभएको बताए।
