न्युज टाईम्स टिभी डेस्क – जनकपुरधाम, २२ जेठ २०८२, बिहिवार
गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ९ स्थित श्री माध्यमिक विद्यालय बरमझीयामा बुधबार एक भव्य जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्राविधिक शिक्षाको महत्वबारे विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायबीच गहन छलफल र जानकारीमूलक प्रस्तुति गरिएको थियो।
कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, मधेश प्रदेशका सूचना अधिकारी सत्य देव पंडितले प्राविधिक शिक्षाको वर्तमान सन्दर्भ, आवश्यकता तथा यसले प्रदान गर्ने सम्भावनाबारे विस्तृत रूपमा प्रस्तुति दिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि नगर उप–प्रमुख तुलसा कुमारी पाण्डे रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता नगर प्रमुख जित नारायण यादवले गर्नुभएको थियो।
नगर प्रमुख यादवले आफ्नो मन्तव्यमा विद्यालयमा प्राविधिक शिक्षा पुनः सञ्चालन गर्न आवश्यक बजेट र योजनाबारे चर्चा गर्दै भने, “राजनीतिक कारणले विद्यालयमा प्राविधिक शिक्षा बन्द भएको थियो, तर अब यसलाई पुनः सञ्चालनमा ल्याउन कति बजेट लाग्ने सोको प्रतिवेदन तयार पार्न प्रधानाध्यापकलाई निर्देशन दिए ।” साथै, आउँदो आर्थिक वर्ष २०८२/०८३ को नगरसभामार्फत प्राविधिक शिक्षा सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो।
उप–प्रमुख पाण्डेले प्राविधिक शिक्षाले युवाहरूमाझ आत्मनिर्भरता विकास, सीपमा आधारित रोजगारी सिर्जना तथा दीगो आर्थिक विकासमा पुर्याउने योगदानबारे प्रकाश पार्नुभयो।
वडा नं. ९ का अध्यक्ष नन्दकिशोर यादवले यस्ता कार्यक्रमहरूले विद्यार्थी र अभिभावकमाझ जागरण फैलाउने विश्वास व्यक्त गर्नुभयो।
विद्यालयका प्रधानाध्यापक जिवक्ष यादवले भने, “प्राविधिक शिक्षाले विद्यार्थीहरूलाई व्यवहारिक सीप सिकाएर जीवनोपयोगी बनाउने काम गर्छ। आजको युगमा यो शिक्षा अत्यन्त आवश्यक बनिसकेको छ।” उनले आगामी दिनमा विद्यालयले प्राविधिक विषयहरूमा विशेष प्राथमिकता दिने जानकारी समेत दिनुभयो। हाल विद्यालयमा कृषि सम्बन्धी प्राविधिक शिक्षा सञ्चालन हुँदै आएको पनि उनले उल्लेख गरे।
कार्यक्रममा करिब ८५ जना अभिभावक, स्थानीय अगुवा तथा नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो सहभागीहरूले यस्ता कार्यक्रमले युवाहरूमाझ व्यावसायिक शिक्षाप्रति रुचि र चेतना वृद्धि गर्नेमा एकमत व्यक्त गरेका थिए।
कार्यक्रममा नगर प्रमुख जीत नारायण यादव, नगर उप–प्रमुख तुलसा कुमारी पाण्डे, वडा नं. ९ का अध्यक्ष नन्दकिशोर यादव, मानवअधिकारकर्मी बिर्नोद कुमार रविदास, प्रधानाध्यापक जिवक्ष यादव, शिक्षक/शिक्षिका, कर्मचारी, वडा सदस्य,स्थानीय समाजसेवी, बुधीजीबी, लगायतको सहभागी रहेको थियो। कार्यक्रमको आयोजक गणेशमान चारनाथ नगरपालिका रहेको र सहकार्य सेवा समाजले गरेको हो।
कार्यक्रम बुधबार जेठ २१ गते श्री माध्यमिक विद्यालय बरमझीयामा भएको थियो भने बिहिबार जेठ २२ गते मा.वि. भरतपुर, शुक्रबार जेठ २३ गते उच्च मा. वी. गोदार र सोमबार जेठ २६ गते रयाली गरि समापन हुने सेवा समाजका प्रतिनिधीले जानकारी दिए।