न्युज टाईम्स टिभी डेस्क – जनकपुरधाम, १८ असोज २०८२, शनिवार
जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थास्थित अग्निकुण्ड मन्दिरको करिब ३ विघा गुठी जमिनमा माछापालन भइरहेको खुलेको छ।
स्थानीय बासिन्दाका अनुसार, मन्दिरका महन्थ भाग्य नारायण दास र वडाध्यक्ष राजनरायण शाहको आपसी सहमतिमा जमिन खनेर माछापालन गरिएको हो। खनेको माटो करिब ६० लाख रुपैयाँमा बिक्री भएको समेत उनीहरूको दाबी छ। महन्थ भाग्य नारायण दासले यसबारे कुनै प्रतिक्रिया दिन अस्वीकार गरेका छन् भने वडाध्यक्ष शाहले ठेकेदारहरूले आफू कहाँ लालपुर्जा देखाए पनि वडा कार्यालयबाट कुनै सिफारिस नदिएको बताएका छन्।
उक्त पोखरी कुन ठेकदारले, कति रकममा र कति वर्षका लागि लिएको हो भन्ने विवरण हालसम्म सार्वजनिक नभएको भन्दै स्थानीयहरूले गुनासो व्यक्त गरेका छन्। कानुनी दृष्टिले वडाध्यक्षलाई गुठी जमिन भाडा, ठेक्का वा बिक्री गर्ने अधिकार नभए पनि, सार्वजनिक हित विपरीत प्रयोग भएमा अनुगमन, प्रतिवेदन र कारबाहीका लागि पहल गर्ने जिम्मेवारी भने हुन्छ। तर, शाहले यस विषयमा आवश्यक कदम नचालेर हेरर मात्र बसिरहेको देखिएकाले आफ्नो कर्तव्य, पारदर्शिता र जवाफदेहिताको जिम्मेवारी पूरा नगरेको भन्दै आलोचना भइरहेको छ।

युवाहरूको भनाइमा, गुठी जमिनलाई दुरुपयोग गर्नुको सट्टा खेलमैदान, अस्पताल वा स्वास्थ्य चौकीजस्ता सार्वजनिक पूर्वाधारमा लगानी गरेमा समाजको समग्र विकासमा टेवा पुग्नेछ। उनीहरूको विश्वास अनुसार यस किसिमको प्रयोगले स्थानीयको स्वास्थ्य, शिक्षा, मनोरञ्जन र सामाजिक एकता मजबुत बनाउन सहयोग पुर्याउनेछ।
यसअघि, पूर्व वडाध्यक्षको कार्यकालमा सो जमिनमा स्वास्थ्य चौकी, प्रहरी चौकी, वडा कार्यालय र डम्पिङ साइट बनाउन पहल भए पनि गुठी संस्थानले अनुमति नदिएपछि जमिन खेतीयोग्य रुपमा प्रयोग हुँदै आएको थियो।
नेपालको गुठी ऐन, २०५३ अनुसार गुठी जमिन धार्मिक, सांस्कृतिक वा सामाजिक प्रयोजनका लागि मात्र प्रयोग गर्न सकिन्छ। अनुमति नलिई अन्य प्रयोजनमा प्रयोग भए कानुनी कारबाही हुने प्रावधान छ।

