न्युज टाईमस टिभी डेस्क – जनकपुरधाम, २० असोज २०८२, सोमवार
धनुषा प्रहरीद्वारा विगत केहि समय यता पत्रकार माथि हातपात, धाकधम्की तथा संचारगृहमा गएर संचारगृह बन्द गराउने जस्ता प्रेस स्वतन्त्रता विरुद्धको कामहरु गरिरहेको घटनाप्रति नेपाल पत्रकार महासंघ धनुषा शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ। ।
जनकपुरधाम उपमहानगरपालिका–२०, रुपैठामा हिन्दु–मुस्लिमबीचको विवाद उग्र बन्दै गएपछि घटनास्थलमा समाचार संकलनका लागि पुगेका पत्रकारहरू माथि प्रहरीले हातपात गरेको आरोप लागेको छ।
आइतबार असोज १९ गते रिपोर्टिङका लागि पुगेका नयाँ आशा एफएमका सञ्चारकर्मी पुरुषोत्तम यादव, रेडियो मिथिलाका धीरेन्द्र कुमार यादव र न्युज टाईम्सका सन्तोष कुमार यादव माथि प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको हो । सो क्रममा पत्रकार यादवको मोबाइल फोन समेत प्रहरीले खोसेको आरोप छ।
महासंघका सचिव बटुकनाथ झाले एक विज्ञप्ति जारी गर्दै सञ्चारकर्मी माथि प्रहरीद्वारा गरिएको लाठीचार्ज प्रेस स्वतन्त्रताको प्रत्यक्ष उल्लंघन भएको बताएका छन्। पछिल्लो एक महिनाभित्र यस्ता घटना दोहोरिँदै आएकामा प्रहरीको रवैया स्पष्ट देखिएको झाको भनाइ छ।
विज्ञप्तिमा रुपैठामा भएका घटनामा प्रहरीद्वारा दोषीमाथि कारबाही नहुनु तथा पत्रकारलाई पटक–पटक निसानामा पारिनु प्रहरी प्रशासनको नाकामयाबी भएको उल्लेख गरिएको छ। महासंघले पत्रकार कुटपिटमा संलग्न प्रहरीमाथि तत्काल कानुनी कारबाही गर्न र सञ्चारकर्मी पुरुषोत्तम यादवको मोबाइल फिर्ता गर्न माग गरेको छ।
यता, धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगरमा सञ्चालित दूधमती मिडिया प्रा.लि. का सञ्चालक तथा नेपाल पत्रकार महासंघ धनुषा शाखाका सदस्य अनिल कुशवाहामाथि प्रहरीले दुव्र्यवहार गरेको थियो। महासंघका अनुसार गत असोज १३ गते कुशवाहामाथि रिपोर्टिङका क्रममा प्रहरीबाट ज्यादती भएको हो। स्थानीय व्यवसायीको भनाइ समाजिक सँजाल फेसबुकमा सार्वजनिक गरेको निहुँमा इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक राजाराम यादवले खटाएका प्रहरी टोलीले दूधमती एफएममा प्रवेश गरी केहीबेर प्रसारण अबरुद्ध गराउनुका साथै पत्रकारलाई कार्यालयमा बोलाई गालीगलौज र थुन्ने धम्की दिएका थिए।
यदपि, महासंघको माग सम्बोधन नभए धनुषा जिल्ला प्रहरी कार्यालयविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।
