ग्रामीण तहमा जघन्य अपराध पञ्चायती मिलाप, घटना राजनीतिकरण र न्यायको पहुँच बन्द गर्ने परिपाटी अझै कायम – संयोजक राजु पासवान

न्युज टाइम्स टिभी डेस्क, जनकपुरधाम – २७ असोज २०८२, सोमवार।
सबै नागरिकलाई मानव अधिकार र कानूनी शिक्षा आवश्यक रहेकोमा पहिलो मधेस प्रदेश कानूनी शिक्षा सम्मेलनका वक्ताहरुले जोड दिएका छन्। कुइन्स कलेज अफ ल एण्ड म्यानेजमेन्ट, भनिमण्डल ललितपुरको आयोजना तथा राजर्षि जनक विश्वविद्यालय र जनकपुरधामका विभिन्न कानूनी शिक्षण संस्थाहरूको सहकार्यमा आयोजित सम्मेलन असोज २६ गते जनकपुरधाममा सम्पन्न भएको हो।

कार्यक्रममा मधेस प्रदेश सभा सभामुख रामचन्द्र मण्डलले “कानुन हामी सबैका लागि हो” भन्दै सबै नागरिकले कानुन बुझ्न र पालना गर्नुपर्ने धारणा व्यक्त गरे। उनले प्रदेशमा न्याय कार्य सम्पादन गर्ने र कानुन कार्यान्वयन गर्ने संरचना निर्माणको आवश्यकता रहेको उल्लेख गरे।

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले सामाजिक कुप्रथाहरू—जस्तै दाइजो प्रथा, बालविवाह, वोक्सीको आरोप, जातीय विभेद र छुवाछुत—का कारण हिंसाका घटनाहरू अझै पनि बढ्दो अवस्थामा रहेको बताए। उनले ग्रामीण तहमा हुने जघन्य अपराधहरू पञ्चायती मिलापद्धतिले टुंग्याउने, घटना राजनीतिकरण गर्ने र न्यायको पहुँच बन्द गर्ने परिपाटी अझै कायम रहेको बताए।

पासवानले पीडितहरू प्रहरीसमक्ष उजुरी गर्न जाँदा उजुरी नलिने, निष्पक्ष अनुसन्धान नगर्ने प्रवृत्तिका कारण न्याय नपाई झनै पीडित हुने अवस्था रहेको उल्लेख गरे। साथै, कानूनी शिक्षाको पहुँच नहुँदा ग्रामीण नागरिकहरू कानुन र आफ्नो अधिकारबाट बेखबर रहेको बताए।

उनले कानूनी शिक्षा प्रति ग्रामीण युवायुवतीहरूमा चासो रहे पनि आर्थिक अभावका कारण अध्ययनबाट बञ्चित हुनुपरेको उल्लेख गर्दै सरकारसँग कानूनी शिक्षा निःशुल्क बनाउने माग गरे।

राजर्षि जनक विश्वविद्यालयका रजिस्ट्रार डा. सत्य नारायण मण्डलले विश्वविद्यालयले यसै वर्षदेखि एलएलबी (LLB) कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिए। उनले कानूनी शिक्षा सबैका लागि आवश्यक भएकोमा जोड दिए।

त्यसैगरी, राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयका प्रमुख बुद्ध नारायण साहनीले “कानुन र मानव अधिकार एक अर्कासँग गाँसिएको विषय हो” भन्दै लोकतन्त्रको संस्थागत विकास बिना मानव अधिकारको संरक्षण सम्भव नहुने धारणा राखे।

कार्यक्रममा राजर्षि जनक विश्वविद्यालय, मोनाष्टिक कलेज, मोडेल कलेज, संकट मोचन कलेज लगायत विभिन्न कानूनी शिक्षण संस्थाका सयौं विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *