न्युज टाईम्स टिभी डेस्क – काठमाडौं, ११ असोज २०८२, शनिवार
इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम एशिया मानव अधिकार तथा विकास मञ्च (फोरम एशिया) को अध्यक्ष पदमा निर्वाचित भएका छन्। असोज ९ गते सम्पन्न मञ्चको ११ औँ साधारण सभाले उनलाई आगामी तीन वर्षका लागि अध्यक्षमा चयन गरेको हो।
एशियाका ७० भन्दा बढी मानव अधिकार संस्थाहरूको सदस्यता रहेको फोरम एशियाले मानव अधिकार, मानव अधिकार रक्षकको संरक्षण तथा सामाजिक न्यायका क्षेत्रमा विभिन्न कार्यक्रम र अभियान सञ्चालन गर्दै आएको छ। थाइल्याण्डको बैंककमा मुख्यालय रहेको यस संस्थाको नेपाल, फिलिपिन्स र जेनेभामा शाखा कार्यालयहरू रहेका छन्।
गौतम एशियाको ठूलो मानव अधिकार संस्थाको अध्यक्षमा निर्वाचित हुनु नेपालको मानव अधिकार अभियानलाई थप सशक्त बनाउन महत्वपूर्ण हुने इन्सेकले जनाएको छ।
