न्युज टाईम्स टिभी डेस्क – जनकपुरधाम, कार्तिक २५, २०८२, मंगलबार
मधेस प्रदेशका मुख्यमन्त्री कार्यालय अगाडि भएको विरोध प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गरेको लाठीचार्जबाट दर्जनौं आन्दोलनकारी घाइते भएका छन्। शुक्रबार साँझ करिब ५ बजे नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवलाई कार्यालय प्रवेश गराउने प्रयास भएपछि स्थिति तनावपूर्ण बनेको हो।
प्रहरीको बल प्रयोगबाट घाइते हुनेहरूमा जनमत पार्टी महोत्तरीका जिल्ला इञ्चार्ज ३५ वर्षीय वीरेन्द्र कुमार मण्डल गम्भीर रूपमा घाइते भएका छन्। प्रहरीको लाठी प्रहारबाट नाकमा चोट लागेका मण्डलको उपचार जनकपुरधामस्थित हिरा हेल्थ केयर सेन्टरमा भइरहेको छ।
त्यसैगरी, आन्दोलनका क्रममा आँसु ग्यास र लाठीचार्जका कारण रामबिनोद चौधरी, ज्ञानेन्द्र झा, बिरेन्द्र यादव, सुरेन्द्र यादव, आदर्श मण्डल, बिद्धान्त झा, युवराज मिश्रा, रामेश्वर मण्डल लगायतका दर्जनौं व्यक्ति घाइते भएका छन्।
आन्दोलनको समाचार संकलनका क्रममा नागरिक मिररका पत्रकार सुरेन्द्र कुमार यादव समेत घाइते भएका छन्। घाइतेहरूको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको पूर्व मुख्यमन्त्री जितेन्द्र प्रसाद सुनार सोनलले जानकारी दिएका छन्।
प्रदर्शनकारीहरूले नेकपा एमालेका सरोजकुमार यादवलाई संवैधानिक प्रावधान विपरीत मुख्यमन्त्रीमा नियुक्त गरिएको भन्दै विरोध जनाइरहेका छन्। उक्त नियुक्तिको विरोधमा जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी (जसपा), नेपाली कांग्रेस लगायतका दलहरू, स्वतन्त्र जनप्रतिनिधि र नागरिक समाजका व्यक्तिहरू निरन्तर आन्दोलनमा रहेका छन्।
नेपाली कांग्रेसका सांसद वीरेन्द्र कुमार सिंहका अनुसार, मुख्यमन्त्रीलाई कार्यालयमा प्रवेश गराउने प्रयास भएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। “शान्तिपूर्ण धर्ना दिइरहेका आन्दोलनकारीमाथि अनावश्यक बल प्रयोग गरिएको छ,” सांसद सिंहले बताए।
