मुख्यमन्त्री नियुक्ति विवाद: प्रदेश कार्यालयमा तोडफोड, अनुगमनमा इन्सेक र आयोग !

न्युज टाईम्स टिभी डेस्क – जनकपुरधाम, २४ कार्तिक २०८२, सोमवार

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिप्रति असन्तुष्टि जनाउँदै प्रदेश राजधानी जनकपुरधाममा शुक्रबार बिहानैदेखि विभिन्न राजनीतिक दलका सांसद र कार्यकर्ताहरूले प्रदेश सरकारका कार्यालयहरूमा तोडफोड गरेका छन्।

प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीले २०८२ कार्तिक २३ गते बिहान ४ बजे महोत्तरीको बर्दिबासस्थित पानस होटलमा यादवलाई मुख्यमन्त्रीको शपथ गराएपछि सो नियुक्ति “संविधान र कानुनविपरीत भएको” भन्दै विरोध सुरु भएको हो।

विरोधमा सहभागी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा (एकीकृत समाजवादी) का सांसद र कार्यकर्ताहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेस प्रदेश प्रमुखको कार्यालय र विभिन्न मन्त्रालयका मुख्य गेटहरूमा तोडफोड गरेका छन्।

तोडफोडकै क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत न्याय सुब्बा (नासु) २४ वर्षीय पंकज कुमार यादव र कार्यालय सहयोगी ५७ वर्षीय शिवलाल महरा माथि कार्यकर्ताहरूले हातपात गरेका छन्। उनीहरूले कार्यालयमा रहेका कम्प्युटर र सामग्री जोगाउने क्रममा आफूहरू कुटपिटमा परेको बताएका छन्।

त्यस्तै, ड्युटीमा खटिएका मुजेलिया प्रहरी चौकीका असई श्यामसुन्दर मण्डल र सोही कार्यालयमा खटिएका सशस्त्र प्रहरीका सैई गिर्धारी शाह ले सांसद माला कर्ण, रमेश पटेल र रामविनोद चौधरीलगायत व्यक्तिहरूबाट दुर्व्यवहार भएको बताएका छन्।

घटनापछि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयका अधिकारीहरूले संयुक्त रूपमा स्थलगत अनुगमन गरेका छन्। अनुगमन टोलीमा इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान, जिल्ला प्रतिनिधि सन्तोष कुमार यादव, आयोगका मानव अधिकार अधिकृत राहुल ठाकुरदीपक ठाकुर सहभागी थिए।

इन्सेक धनुषा प्रतिनिधि यादवका अनुसार मन्त्रालय अगाडिका गमला, गेट र भौतिक संरचनाहरूमा क्षति पुगेको छ। अहिले घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अतिरिक्त सुरक्षा टोली परिचालन गरी कडा सुरक्षा व्यवस्था गरिएको छ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *