भ्रष्टाचार र विकृतिविरुद्ध कुर्थामा ‘जेन्जी युवा संगठन’, सरसफाइ अभियानबाट सुरुआत !

जनकपुरधाम, २०८२ कार्तिक २३, आइतबार (न्युज टाइम्स टिभी डेस्क ) —

जनकपुरधाम उपमहानगरपालिका–२१, कुर्थाका युवाहरूले शनिबार हिजो ‘जेन्जी युवा संगठन’ गठन गर्दै सरसफाइ अभियानबाट आफ्नो गतिविधि प्रारम्भ गरेका छन्।

गाउँमा फैलिएका सामाजिक विकृति, भ्रष्टाचार, शिक्षा तथा स्वास्थ्य क्षेत्रका समस्या र सार्वजनिक जग्गाको संरक्षणका उद्देश्यले युवाहरूले उक्त संगठन गठन गरेको जनाइएको छ।

शनिबार बिहान आयोजित भेलामा सहभागी युवाहरूले गाउँमा उत्तरदायित्व, पारदर्शिता र सुधारको भावना विकास गर्न संयुक्त प्रयास अपरिहार्य रहेको निष्कर्ष निकाले।

संगठनका स्थानीय युवा जय पण्डितले राजनीतिक दबाब वा प्रलोभनमा नपरी गाउँको हितका लागि निष्पक्ष रूपमा काम गर्ने प्रतिबद्धता जनाए। उनले भने, हामी कुनै राजनीतिक प्रभावमा नपरी निष्पक्ष रूपमा गाउँका हितका लागि काम गर्नेछौं।

त्यस्तै, सक्रिय युवा अमित कुमार शर्माका अनुसार युवाहरूले आफ्नो हक–अधिकारका पक्षमा एकजुट भएर आवाज उठाउनुपर्ने बताए। उनका अनुसार, अब गाउँका विकृति, भ्रष्टाचार र अन्यायविरुद्ध युवाहरू मौन बस्ने छैनन्। यो संगठन सकारात्मक परिवर्तनको थालनी हो।

संगठन गठनको अवसरमा युवाहरूले दुधमती नदी किनारमा सरसफाइ अभियान सञ्चालन गरेका थिए।

कार्यक्रममा श्रवण महासेठ, दीपक मण्डल, जगन्नाथ पण्डित, रितिक राय, पंकज महासेठ, सन्तोष कुमार यादव ,अमित शर्मा र टुट्टु पण्डित लगायत युवाहरूको सहभागिता रहेको थियो।

स्थानीय बासिन्दाहरूले युवाहरूको यो पहललाई सकारात्मक कदमका रूपमा स्वागत गर्दै यसले गाउँमा सचेतना, एकता र विकासको वातावरण निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *