विरेन्द्र मुखियाले मेलाको रकम र रुख कटानीको हिसाब ७ दिनभित्र सार्वजनिक नगरे कार्यवाही गर्ने – वडाध्यक्ष रणवीरसिंह मण्डल


न्युज टाईम्स टिभी डेस्क – जनकपुरधाम, २३ कार्तिक २०८२, आइतवार ।
कमला नगरपालिका वडा नं. ९, धनुषाले जितिया मेलाको चन्दा रकम र सार्वजनिक स्थलमा गरिएको रुख कटानीको लेखा–जोखा सार्वजनिक गर्न सूचना जारी गरेको छ।

वडा कार्यालयले स्थानीय विरेन्द्र मुखियालाई पत्र पठाउँदै, साविक दुवरकोट–हथलेटवा गाविस, हालको कमला नगरपालिका वडा नं. ९, टोल नरहामा आयोजित जितिया मेलाको सम्पूर्ण आय–व्यय विवरण सात दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको हो।

वडा कार्यालयका अनुसार मिति २०८२ साल भदौ ३० र ३१ गते गाउँवासीबाट चन्दा संकलन गरी मेला आयोजना गरिएको थियो। तर, सो मेलाको आय–व्यय विवरण पटक–पटक माग्दा पनि नदिएको भन्दै नरहा समाजले मिति २०८२/०५/१४ गते वडा कार्यालयमा निवेदन दर्ता गराएको थियो।

नरहा समाजका प्रतिनिधिहरूले मेलाको खर्च विवरण र “डिहबार स्थान” नामक सार्वजनिक क्षेत्रभित्र रहेका रुख–विरुवा काटी बिक्री गरिएको रकमको पनि हिसाब नदिएको आरोप लगाएका छन्।

वडा कार्यालयका अध्यक्ष रणवीरसिंह मण्डलले पत्रमार्फत सो घटनाको स्पष्ट विवरण सात दिनभित्र वडाको प्रतिनिधिको रोहबरमा सार्वजनिक गर्न आग्रह गरेका छन्। उनले तोकिएको समयसीमाभित्र विवरण नआएमा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएका छन्।

यता, स्थानीय बासिन्दाले जितिया मेलाको सम्पूर्ण आय–व्यय विवरण सार्वजनिक नगरेको विषयमा वडा कार्यालयमा निवेदन पेश गरेका थिए । विरेन्द्र मुखियाले मिति २०८२/०५/३० गते नरहा समाजको सहयोगमा मेलाको आयोजना गरेका थिए। तर, सो मेला समितिले तथा गाउँबासीले पटक–पटक विवरण सार्वजनिक गर्न अनुरोध गर्दा समेत हालसम्म आय–व्यय हिसाब सार्वजनिक नगरिएको आरोप लगाइएको छ। निवेदनमा स्थानीय बासिन्दा रामसेवक वास, जयवाबु मुखिया (मेला समिति सचिव), रामवारण मुखिया, रामअवतार साह रहेका छन्।

यसअघि पनि वडा कार्यालयले जितिया मेलाको रकम र सार्वजनिक स्थलमा भएको रुख–विरुवाको कटानीबारे हरहिसाब सार्वजनिक गर्न ७ दिनभित्र निर्देशन दिइसकेको थियो। तर, हालसम्म कुनै जानकारी उपलब्ध नभएकोले स्थानीय बासिन्दाले पुनः वडा प्रतिनिधि मार्फत सार्वजनिक गर्न आग्रह गरेका छन्।

यदपि, स्थानीयहरूका अनुसार सो मेला वर्षेनि हुने भए पनि यस वर्षको मेलामा संकलित रकमको पारदर्शिता नहुँदा विवाद उत्पन्न भएको हो।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *