न्युज टाईम्स टिभी डेस्क – जनकपुरधाम । मैथिली कला र संगीत क्षेत्रमा पछिल्लो समय देखिएको सक्रियताका बीच, जनकपुरधामका स्थानीय गायक तथा कलाकार हिमेश चौधरीको नयाँ गीत ‘गुलाबी गुलाबी’ सार्वजनिक भएको छ। यो गीत फेब्रुअरी ४ मा युट्युब मार्फत औपचारिक रूपमा रिलिज गरिएको हो।
रोमान्टिक स्वादले भरिएको गीतमा हिमेशसँगै स्नातक तहका विद्यार्थी सिम्रनको आकर्षक अभिनय देख्न सकिन्छ। गीतका शब्द र गायन हिमेश चौधरीकै रहेको छ भने संगीत संयोजन दीपेन्द्र साहले गरेका छन्।
गीतको म्युजिक भिडियो ड्रिम तस्विर ब्यानरमा निर्माण गरिएको छ र प्राविधिक पक्षमा पूर्ण ध्यान दिइएको देखिन्छ। भिडियोको सम्पादन हिमांशु पटेल र लभ चौधरी, छायांकन अंकित ठाकुर, कला निर्देशन आदर्श साह, पोशाक डिजाइन रन्जिता । क्रिएशन तथा शीर्षक डिजाइन अनुराग साहले गरेका छन्।
युवा पुस्तालाई लक्षित गरी तयार गरिएको ‘गुलाबी गुलाबी’ले रिलिजको केही दिनमै सामाजिक सञ्जालमा चर्चा पाएको छ। सांगीतिक विश्लेषकहरूको अनुमान अनुसार, गीतको रोमान्टिक र मिठो संगीतले मैथिली सांगीतिक बजारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
हिमेश चौधरीले गीतको बारेमा बताए अनुसार, “यस गीतमार्फत हामी युवा पुस्तालाई संगीत र कला मार्फत रमाइलो र सन्देश दिन चाहन्छौं। आशा छ, हाम्रा दर्शकहरूले यो गीत मन पराउने छन्।”
गीत युट्युबमा सार्वजनिक भएको दिनदेखि नै हजारौं दर्शकले हेरेका छन् र कमेन्टमार्फत गीतको शब्द, संगीत र अभिनयको प्रशंसा गरेका छन्।

