स्वास्थ्य, शिक्षा र कृषिमा विशेष प्राथमिकता दिँदै मेयर मण्डल चर्चामा

न्युज टाईम्स टिभी डटकम, जनकपुरधाम,१२ जेठ २०८२, सोमवार — धनुषाधाम नगरपालिका–५ स्थित बंजरग आधारभूत विद्यालयको दोस्रो तल्लाको निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। नगरप्रमुख बालेश्वर मण्डलको सक्रिय पहलमा आवश्यक बजेट विनियोजन गरी सार्वजनिक टेन्डर प्रक्रियामार्फत निर्माण कार्य सुरु गरिएको हो।

स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा विशेष प्राथमिकता दिँदै आएका मेयर मण्डल विकास निर्माणप्रति दृढ प्रतिबद्धता देखाउँदै आएका छन्। स्थानीय तहमा जनसम्पर्क बलियो बनाएका उनले नगरवासीको विश्वास जित्दै जनप्रिय नेतृत्वको परिचय बनाएका छन्।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामपुकार यादवले भवन निर्माणपछि विद्यालयको शैक्षिक वातावरण अझ गुणस्तरीय हुने विश्वास व्यक्त गरेका छन्। “नयाँ संरचनाले सिकाइको गुणस्तरमा सकारात्मक प्रभाव पार्नेछ,” उनले भने।

मेयर मण्डलले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई समावेशी विकासको मेरुदण्डका रूपमा प्रस्तुत गर्दै भने, “जनताको सेवामा सधैं तत्पर छु। नगरपालिका यी तीन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको छ।”

स्थानीयवासीहरूले समेत मेयर मण्डलको सक्रियता र विकास योजनाप्रति सन्तोष व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी कामको अपेक्षा व्यक्त गरेका छन्।

वडा नं. ५ का वडा अध्यक्ष इन्द्र कुमार महतोले खुशी व्यक्त गर्दै भने, “शिक्षा विकास हाम्रो पहिलो प्राथमिकता हो। यस संरचनाले बालबालिकाहरूको सिकाइमा ठुलो सुधार ल्याउने विश्वास लिएको छु। वडावासीको सक्रिय सहकार्यले यो सम्भव भएको हो।”

त्यस्तैगरी, धनुषाधाम नगरपालिकाकी उपप्रमुख विद्यादेवी भुजेलले भवन निर्माण कार्यप्रति सन्तोष व्यक्त गर्दै भनिन्, “शिक्षाको स्तर उकास्न यस्ता संरचनात्मक विकासहरू अपरिहार्य छन्। मेयरज्यूको नेतृत्वमा हामी शिक्षामा पहुँच, गुणस्तर र समावेशीतामा विशेष जोड दिइरहेका छौं।”


Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *