न्युज टाईम्स टिभी डेस्क – काठमाडौं, ०८२ भदौ १७ गते । सरकारले नेपाल भित्रिने विदेशी नागरिकहरूको ट्र्याकिङ सुरु गरेको छ । अध्यागमन विभागले अब नेपाल भ्रमण गर्ने विदेशी नागरिकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत गर्ने जनाएको छ ।
विभागका अनुसार विदेशी नागरिकको सुरक्षा, सूचना सहजीकरण, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवर्द्धनलाई प्रभावकारी बनाउन यो प्रणाली विकास गरिएको हो ।
अध्यागमन ऐन, २०४९ र नियमावली, २०५१ अनुसार विदेशीको प्रवेश, उपस्थिति र प्रस्थान नियमन गर्ने तथा नेपाली नागरिकको आगमन–प्रस्थान व्यवस्थापन गर्ने जिम्मेवारी अध्यागमन प्रशासनकै भएकाले प्रणाली लागू गरिएको विभागले जनाएको छ ।
प्रणाली पहिलो चरणमा १ असोजदेखि काठमाडौं उपत्यकाका तारे होटेलमा अनिवार्य हुनेछ भने दोस्रो चरणमा १ मंसिरदेखि सबै तारे होटेल, विमान कम्पनी, ट्राभल एजेन्सी तथा मनी एक्स्चेन्जमा लागू गरिनेछ ।
