न्युज टाईम्स टिभी डेस्क – जनकपुरधाम, ५ मंसिर २०८२, शुक्रवार
धनुषाको औरही गाउँपालिकाले शिक्षा अधिकार उल्लंघन सम्बन्धी गुनासो बढेपछि श्री माध्यमिक विद्यालय औरहीमा बिहिबार अनुगमन गरेको छ।
रिपोर्तिङ्गको क्रममा
विद्यालयमा पढाइ चलिरहेको समयमा विद्यार्थीलाई कक्षाबाट निकालेर सरकारी ठेक्का प्रक्रियामा निर्माणाधीन भवनका सामग्री ओसारपोसार गराइएको, दशैँ–तिहार बीच विद्यालय बन्द गरी खेल आयोजना गरिएको, शिक्षक अभावका कारण विद्यार्थी बाहिर कोचिङ पढ्न बाध्य हुने र वार्षिक विषयगत कोर्स सम्पन्न हुन नसक्नु, विद्यालय घेराबारबीच पनि पढाइको समयमा विद्यार्थी फिल्डतिर भट्किनु तथा खाना–टिफिनपछि धेरै विद्यार्थी घर फर्किनुजस्ता समस्या देखिएको, बिधालयमा शिक्षकको अभावले कक्षा – कोठा मर्ज अवस्था रहेको देखिन्छ ।
वार्षिक विषयगत कोर्स सम्पन्न हुन नसक्नु
शिक्षकको अभाव, कक्षा–कोठाको मर्ज, अनियमित पठन–पाठन र प्रशासनिक कमजोरीका कारण विद्यालयमा वार्षिक विषयगत कोर्स निर्धारित समयमा सम्पन्न हुन सकेको छैन। कक्षाहरू प्रभावकारी रूपमा सञ्चालन नहुनु र विद्यार्थीहरू नियमित कक्षा गतिविधिमै संलग्न नहुनुले पाठ्यक्रम पूरा गर्ने प्रक्रिया थप जटिल बनेको छ, जसको प्रत्यक्ष असर विद्यार्थीको सिकाइ उपलब्धि र गुणस्तरीय शिक्षामा परेको देखिन्छ।
प्रधानाध्यापकको प्रतिक्रिया
प्रधानाध्यापक रामचन्द्र साहले भने विद्यार्थीले “हेल्प मात्र गरेको” दाबी गर्दै, “यहाँका स्टेकहोल्डर बसेर समस्या समाधान गर्न सक्छन्,” भनेका छन्। विद्यालय बन्द गराएर खेल आयोजना गरिएको आरोपबारे उनले भने, “खेलाडीहरूले बिना अनुमति खेल खेले। स्थानीय सरकारलाई जानकारी गराउँदा पनि कुनै प्रतिक्रिया आएन,” भने तर कुन सरोकारवालालाई जानकारी गराएको हो भन्ने प्रश्नमा उनले कुनै स्पष्ट जवाफ दिएनन्। निवर्तमान प्र.अ ले अहिले सम्म हरहिसाब बुझाएको छैन उनले बताए।
जेनजी युवाहरुको माग
विद्यालयमा गुणस्तरीय पठन–पाठनका लागि व्यवस्थापन समिति गठन, विद्यालयको हरहिसाबको पारदर्शिता, विद्यार्थीको शिक्षा अधिकार हननमा छानबिन र कारबाहीको लगायतको मागहरू जेनजी युवाहरुले अघि सारेका छन्।
पालिकाको अनुगमन
उपाध्यक्ष पुनम कुमारी साहको निर्देशनमा, गाउँपालिकाका शिक्षा प्रमुख सरोज यादव तथा वडा अध्यक्ष जिनिश लाल मण्डल सहितको टोलीले विद्यालयमा अनुगमन गरेको हो। अनुगमन प्रतिवेदन सार्वजनिक बारे प्रमुख प्रशासकीय अधिकृत अशोक यादव र शिक्षा शाखा प्रमुख यादवसँग बुझदा कुनै प्रतिक्रिया आएन। तर, अनुगमन टोलीका संयोजक साहले प्रतिवेदन सार्वजनिक गर्ने जानकारी दिइन ।
यदपि, विद्यालयमा देखिएका अनियमितता, शिक्षक अभाव, प्रशासनिक कमजोरी र विद्यार्थीको शिक्षा अधिकारमा परेको प्रत्यक्ष प्रभावले श्री माध्यमिक विद्यालय औरही गम्भीर समस्याबाट गुजरिरहेको स्पष्ट हुन्छ। गाउँपालिकाले गरेको अनुगमनले यथार्थ उजागर गर्ने अपेक्षा गरिएको भए पनि अनुगमन प्रतिवेदन सार्वजनिक नहुनुमा ढिलाई हुन् सक्ने शंका उब्ज भएको छ।
प्रधानाध्यापकको अस्पष्ट प्रतिक्रिया, पूर्व प्रशासनले बुझाउन बाँकी राखेको हरहिसाब तथा स्थानीय युवाहरूले उठाएका पारदर्शिता र कारबाहीका मागले विद्यालय सुधारका लागि त्वरित र ठोस कदम आवश्यक रहेको संकेत गर्छ।
अन्ततः, शिक्षा अधिकार सुनिश्चित गर्दै विद्यालयलाई शैक्षिक, प्रशासनिक र व्यवस्थापकीय दृष्टिले सही मार्गमा ल्याउन स्थानीय सरकार, विद्यालय प्रशासन, अभिभावक र समुदायबीच समन्वयमा आधारित प्रभावकारी हस्तक्षेप अपरिहार्य देखिन्छ।
