न्युज टाईम्स टिभी – जनकपुरधाम।
मानव अधिकार सहायता कक्षले आर्थिक रूपमा कमजोर तथा न्यायमा पहुँच नपाएका २१ जनालाई आर्थिक सहयोग उपलब्ध गराउँदै न्याय प्राप्तिको प्रक्रियामा सक्रिय पहल जारी राखेको जनाएको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गठन गरिएको सो कक्षको मंगलबार बसेको त्रैमासिक समीक्षा बैठकमा पीडितहरूलाई गरिएको सहयोग तथा समग्र गतिविधिबारे विस्तृत तथ्यांक सार्वजनिक गरिएको हो।
इन्सेक मधेश प्रदेशका संयोजक राजु पासमानका अनुसार बालिका तथा महिलासहित २१ जना पीडितलाई आवश्यकताअनुसार २ हजारदेखि १० हजार रुपैयाँसम्म आर्थिक सहयोग प्रदान गरिएको छ।
पासमानले भने, “पीडितहरूलाई न्यायसम्म पहुँच सुनिश्चित गर्न यातायात, खाजा तथा कागजात व्यवस्थापनमा लाग्ने खर्चका लागि सहयोग गर्दै आएका छौँ। साथै, निःशुल्क कानून व्यवसायी उपलब्ध गराउनेदेखि लिएर जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयलगायत निकायमा निरन्तर पहल भइरहेको छ।”
उनका अनुसार घरेलु हिंसा, महिला हिंसासहितका मुद्दामा पीडितलाई न्याय दिलाउन स्थानीय प्रहरी, प्रशासन र न्यायालयसँग नियमित समन्वय भइरहेको छ।
“२१ जनामध्ये ८ जना दलित समुदायका छन् भने केही जनजाति समुदायका पीडित पनि रहेका छन्,” पासमानले बताए।
मानव अधिकार सहायता कक्षका संयोजक तथा अधिवक्ता राजकुमार महासेठले प्रदेशमा हिंसासम्बन्धी घटनाको संख्या प्रतिदिन बढ्दै गएको बताउँदै भने, “यो वर्ष विगतको तुलनामा पीडितको संख्या उल्लेख्य रूपमा बढेको छ। सबैभन्दा धेरै दलित तथा सीमान्तकृत समुदायका व्यक्ति हिंसाबाट प्रभावित देखिएका छन्।”
उनका अनुसार हालसम्म सहयोग प्राप्त गरेका धेरैजसो पीडित न्याय प्राप्तिको चरणसम्म पुगेका छन्, जुन सकारात्मक संकेत हो।
बैठकले आगामी योजना, रणनीति तथा कार्यान्वयनका विषयमा समेत विस्तृत छलफल गरेको जनाएको छ।

