प्रमोद शर्मा
न्युज टाईम्स टिभी डेस्क, जनकपुरधाम,१७ फागुन २०८१, शनिवार
मधेश प्रदेशमा कार्यरत सहायक स्वास्थ्यकर्मी (सिअहेव) र सहायक नर्स मिडवाइफ (सिअनमी) पाँचौं तह संघर्ष समितिले आन्दोलनको घोषणा गरेको छ। शुक्रबार महोत्तरीको बर्दिबासस्थित उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न प्रदेशस्तरीय भेलाले विभिन्न चरणको आन्दोलन गर्ने निर्णय गर्दै तयारी थालेको छ।
संघर्ष समितिका संयोजक मोहन साह को नेतृत्वमा बसेको भेलाले संघसंस्थाका अधिवेशनहरू बहिष्कार गर्ने, ज्ञापनपत्र तथा दबाबमूलक कार्यक्रमलाई निरन्तरता दिने, संघर्ष समितिको विस्तार गर्ने, आन्दोलनको रणनीति तय गर्ने र आर्थिक व्यवस्थापनको योजना बनाउने निर्णय गरेको छ।
भेलाले सात दिने अल्टिमेटम, कालोपट्टी बाँधेर काम, ज्ञापनपत्र बुझाउने, जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई जानकारी गराउने, मुख्यमन्त्री कार्यालयअगाडि धर्ना तथा अनिश्चितकालीन आन्दोलन गर्ने निर्णय गरेको छ। महासचिव सन्तोष कुमार साह का अनुसार समितिलाई ३७ सदस्यीय बनाइएको छ। सहसंयोजकमा रुबी यादव र अमृत यादव, महासचिवमा सन्तोष कुमार साह, सचिवमा अर्चना झा, कोषाध्यक्षमा रामदेव कापर, सहकोषाध्यक्षमा प्रियंका भारती चयन भएका छन्। प्रमुख सल्लाहकार ललन कुमार साह, कानुनी सल्लाहकार नन्द कुमार ठाकुर र प्रेस सल्लाहकार प्रवक्ता रामदेव कापर चयन भएका छन्।
संघर्ष समितिले मधेश प्रदेश सरकारले ल्याएको स्थानीय सेवा गठन तथा सञ्चालन ऐन २०८१ ले स्वास्थ्यकर्मीहरूको पदोन्नति रोक्ने व्यवस्था गरेको भन्दै आपत्ति जनाएको छ। अन्य ६ प्रदेशमा संघीय सरकारबाट दुई तह बढुवाको अवसर भए पनि मधेश प्रदेश सरकारले समायोजन ऐन २०७५ को आधारमा पदोन्नति रोक्दा आफूहरू अन्यायमा परेको उनीहरूको भनाइ छ।