संवाददाता : दिपेश कुमार शाह
न्युज टाईम्स टिभी – रौतहट, १६ असोज २०८२, बिहीवार
रौतहटको मध्यभागस्थित ईलाका प्रहरी कार्यालय कटहरियामा बुधबार जेष्ठ नागरिक सम्मान, वृक्षारोपण तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि ईलाका प्रहरी कार्यालय गरुडाका डिएस्पी शंकर प्रसाद आचार्य रहनुभएको थियो। उहाँले ZenG युवा पुस्तासहित जेष्ठ नागरिकलाई सम्मान गर्नुका साथै प्रहरी सेवामा योगदान पुर्याउँदै आएका सई धर्मेन्द्र पौडेललाई विशेष प्रशंसा गर्दै सम्मान गर्नुभयो।
यस अवसरमा कार्यालयलाई आकर्षक बनाउन फूल सजावटदेखि रङ्गरोगनसम्मको सम्पूर्ण कार्य ZenG युवाहरूले गरेका थिए। साथै कार्यालय परिसरमा वृक्षारोपण कार्यक्रम गरी हरियाली अभियानलाई अघि बढाइएको थियो।
समीक्षा कार्यक्रम अन्तर्गत डिएस्पी आचार्यले प्रहरी सेवाको प्रभावकारिता, स्थानीय जनगुनासो र आगामी सुधारका विषयमा सुझाव संकलन गर्नुभयो। उहाँले प्रहरी–जनसहयोग समाजको सुरक्षाको आधारस्तम्भ भएको उल्लेख गर्दै स्थानीयको आवाजलाई प्राथमिकतामा राखी काम गर्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा सहभागी सई धर्मेन्द्र पौडेलले आफ्नो अनुभव सुनाउँदै प्रहरी र समाजबीचको सहकार्यले अपराध नियन्त्रण र सामाजिक सद्भावमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
हालै जेन जी आन्दोलनका क्रममा रौतहटको सदरमुकामलगायतका थुप्रै प्रहरी कार्यालयमा तोडफोड भए पनि कटहरिया प्रहरी कार्यालय सुरक्षित रहनु, युवाहरूको सक्रियता र प्रहरीप्रतिको विश्वासको परिणाम भएको सहभागीहरूले बताएका छन्।

