सन्तोष कुमार यादव
न्युज टाईम्स टिभी डेस्क, जनकपुरधाम, ७ फागुन २०८१, बुधवार
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेशले लहान नगरपालिका-१४ स्थित बस्तीपुर माध्यमिक विद्यालयमा दलित छात्रमाथि भएको जातीय छुवाछुत तथा विभेद घटनाको ०८१ फागुन ४ र ५ गते संयूक्त रुपमा अनुगमन गरेको छ ।
राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेश कार्यालयका प्रमुख बुद्धनारायण सहनी, इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान, आयोगका मानवअधिकार अधिकृत राहुल ठाकुर, इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियार, दलित जनकल्याण युवा क्लवका कार्यकारी निर्देशक बिनोद बिसुन्केले घटनास्थत पुगि अनुगमन गरेका हुन् ।
राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेश कार्यालयका प्रमुख बुद्धनारायण सहनीका अनुसार ०८१ माघ २१ गते सरस्वती पुजाको दिन दलित भएकै कारण विद्यार्थी कृष्ण रामलाई पुजामा बस्न नदिएको विषय सञ्चार माध्यमहरूमा समाचार आएपछि वास्तविक्ता बुझ्न विद्यालय अनुगमन गरेको हो ।
अनुगमनको क्रममा पीडित भनिएको विद्यार्थी कक्षा ९ मा अध्यनरत १६ वर्षीय कृष्ण रामले वर्षौंदेखि यस विद्यालयमा कक्षा ९ मा अध्यनरत प्रथम विद्यार्थी मार्फत सरस्वतीको पुजा गर्नै चलन रहेको बताउनु भयो ।
“म पुजाको दिन बिहान ६ः३० विद्यालय आएर गित संगितका समाग्रिहरू मिलाएर नुहाउन घर गएँ, नुहाएर ८ बजे विद्यालय पुग्दा विद्यालयमा प्रधानाध्यापक देवेन्द्र यादव र शिक्षक भागवत मात्र हुनुहुन्थ्यो । पुजा ढिलो शुरु हुन्छ जस्तो लाग्यो र म काम विशेषले लहान गएँ । केही समय पछि आमाले फोन गरेर बोलाउनु भयो । म घर फर्किएर विद्यालय गएँ र सरस्वती पुजा समितिका संयोजक योगेन्द्र यादवलाई आफू आएको जानकारी गराउँदै पुजामा बस्न दिनु भनि आग्रह गर्दा “तिमि पुजामा नबस अरुलाई नै पुजामा बस्न भनि सके अब तिमि प्रसाद वितरण गर” भन्नु भयो । तबसम्म पुजा शरु भएको थिएन । म प्रसाद प्याक गर्न कोठामा गएँ । मलाई मन लागेन र म घर गएँ । पुनः विद्यालय गएर पुजा समितिका संयोजक योगेन्द्र यादवलाई मलाई पुजामा बस्न दिनुस भन्दै बिन्ति गरे । हामी दुवै जना पुजामा बस्छौं भन्दा पनि नत प्रधानाध्यापक नत पुजा समितिका संयोजकले जवाफ दिनु भयो । म दलित भएकै कारणले पुजामा बस्न दिनु भएन भन्ने लाग्यो” पीडित विद्यार्थी रामले दुःख व्यक्त गर्नु भयो ।
यता, प्रधानाध्यापक देवेन्द्र यादवले “म निलम्बनमा परी उच्च अदालत राजविराजबाट मुद्दा जिति माघ १३ गते पुनः प्रधानाध्यापकको पदमा बहाली भएको र पुजा समिति पूर्व प्रधानाध्यापकले निर्माण गरिसक्नु भएकोले हस्तक्षेप गर्न उपयुक्त लागेन” बताउनु भयो । साथै, पुजाको दिन घरायसी कामले गर्दा विद्यालयमा एकछिन मात्र बसी घर गएको र पुजाको अन्तिम समयमा विद्यालय आएकोले यस विषयमा आफूलाई जानकारी नभएको यादबले बताउनु भयो ।
यसै क्रममा पुजा समितिका संयोजक शिक्षक योगेन्द्र प्रसाद यादवले विद्यालयको परम्परा अनुसार कक्षा ९ अध्यनरत प्रथम विद्यार्थी पुजामा बस्ने चलन भएको र माघ २० गते कृष्ण रामका लागि पुजामा लगाउने धोती रङग्याउन लगाउनका साथै उनलाई भोली नुहाएर आउन भनेको बताउनु भयो । त्यसैगरी, पुजाको दिन बिहान आफू विद्यालय आइपुग्दा सम्म कृष्णा विद्यालय नआइपुगेको र दुई पटकसम्म उनलाई बोलाउन पठाउँदा उनी घरमा नभएको जानकारी पाएपछि कक्षा ९ मा अध्यनरत चतुर्थ श्रेणीका छात्रा सिमरन साहलाई पुजामा बसाई पुजा शुरु भइसकेको योगेन्द्र प्रसाद यादवले जानकारी दिनु भयो । साथै पुजा शुरु भैसकेपछि उनी आएकोले पुजामा बसिसकेकी साहलाई उठाउन उचित नलागेको र उनलाई तिमि पनि बस भन्ने सोच्न समेत नसकेको यादवले बताउनु भयो । तर, जातीय छुवाछुटा तथा विभेदको नियत नभएको उहाँले बताउनु भयो ।
सिमरन साहले “मलाई पुजामा बस्नु पर्छ भनि प्राधानाध्यापक र पुजा समितिले भन्नु भएको थिएन । म अरु साथिहरू जस्तै विद्यालयमा आई पुजाको काम गर्दै थिएँ । अचानक तिमि सारी लगाएर तयार भएर आउ, तिमि पुजामा बस्नु पर्छ भन्नु भयो । म घरबाट तयार भइ विद्यालय आइपुग्दा कृष्ण पनि आई सकेको थियो । तर, पुजामा मलाई नै बसाउनु भयो” बताउनु भयो ।
इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानका अनुसार घटना बुझ्दा छात्र माथि विभेद भएको देखिन्छ । “विद्यालयको परम्परा तथा नियम अनुसार उक्त विद्यालयको कक्षा ९ मा अध्यनरत प्रथम छात्र सरस्वतीको पुजामा बस्न पाउनु पर्ने हो । तर, उनी दलित भएकै कारण विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समिति र पुजा समितिले विद्यालयको परम्पराविरुद्ध कार्य भइरहँदा समेत कसैले बिरोध नगर्नुको अर्थ यस विद्याको मन्दिरमा भएको जातीय छुवाछुत तथा विभेदको घटना नियतसंगत भएको देखिन्छ” संयोजक पासवानले भन्नु भयो ।
दलित जनकल्याण युवा क्लवका कार्यकारी निर्देशक बिनोद बिसुन्केले पुजा शुरु हुन अगावै कृष्ण विद्यालयमा आइपुगेको भए तापनि उनलाई पुजामा बस्न नदिनु सरासर अन्याय र विभेद भएकोले कानुन अनुसार प्रकृया अगाडि बढाई दोषीलाई कारबारी गर्नु पर्ने बताउनु भयो ।
इलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टर शिव कट्टेलका अनुसार हामीले समाचारबाट थाहा पाएको तर आधिकारीक रुपमा उजुरी नपरेको बताउनु भयो । उजुरी आए कानुन अनुसारको कारबाही प्रकृया अगाडि बढाउने इन्स्पेक्टर कट्टेलले बताउनु भयो।
