हंसपुर–७ मा सक्षम महिला कृषि सहकारीको १०औँ साधारण सभा सम्पन्न

न्युज टाईम्स टिभी डेस्क – जनकपुरधाम।

हंसपुर नगरपालिका–७ नौवाखोर प्रसाहीमा अवस्थित सक्षम सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लिमिटेडको १०औँ वार्षिक साधारण सभा शुक्रबार भव्य सहित सफलतापुर्वक सम्पन्न भएको छ।

साधारण सभामा हंसपुर नगरपालिकाकी उपमेयर दुर्गी देवी मण्डल प्रमुख अतिथि तथा नगरपालिकाका पूर्वमेयर राम ज्ञान मण्डल विशिष्ट अतिथिका रूपमा सहभागी थिए। सभाको अध्यक्षता सहकारीकी अध्यक्ष सुशीला कुमारी मण्डलले गरेकी थिइन्।

सभालाई सम्बोधन गर्दै उपमेयर मण्डलले महिला केन्द्रित सहकारीहरूले गाउँको आर्थिक सबलीकरणमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताइन्। महिलाहरू एकजुट भई सञ्चालन गरेका सहकारीले आत्मनिर्भरता बढाएको उल्लेख गर्दै उनले नगरपालिकाले सहकारीसँगको सहकार्यलाई प्राथमिकतामा राख्ने बताइन्।

विशिष्ट अतिथि पूर्वमेयर मण्डलले सहकारीको आर्थिक अनुशासन र व्यवस्थापनको प्रशंसा गर्दै भने, “सदस्यहरूको विश्वास नै सहकारीको सबैभन्दा ठूलो पूँजी हो, पारदर्शितालाई निरन्तरता दिनुपर्छ।”

साधारण सभामा प्रस्तुत प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/०८२ सम्म सहकारीका कुल शेयर सदस्य संख्या ५९० पुगेको छ भने ११७ जना ऋणी सदस्य रहेका छन्। सहकारीमा सात सदस्यीय सञ्चालक समिति, तीन सदस्यीय लेखा समिति, तीन सदस्यीय ऋण समिति तथा दुई जना कर्मचारी कार्यरत छन्।

आर्थिक विवरणअनुसार चालु आर्थिक वर्षमा सहकारीले २९ लाख ४३ हजार ५११ रुपैयाँ आम्दानी गरेको छ भने २७ लाख १२ हजार ८८२ रुपैयाँ खर्च भएको छ। यस अवधिमा सहकारीले २ लाख ३० हजार ६२९ रुपैयाँ नाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ।

कुल खर्चमध्ये सबैभन्दा बढी खर्च सदस्यहरूको बचत ब्याज, ट्रयाक्टर इन्धन तथा सामग्री खरिदमा भएको जनाइएको छ। साथै, ट्रयाक्टर सञ्चालनबाट ९३ हजार २८० रुपैयाँ आम्दानी र ४५ हजार ८२९ रुपैयाँ खर्च भएको जानकारी दिइएको छ।

साधारण सभामा शेयर सदस्य तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।


Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *