काठमाडौं — आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्था सुदृढ गर्न नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना ‘निर्वाचन प्रहरी’ भर्ना खुला गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागअन्तर्गत भर्ना छनोट शाखाले यस सम्बन्धी सूचना सार्वजनिक गरेको हो।
निर्वाचनस्थलमा मतदाता सुरक्षा, मतगणनामा व्यवधान रोकथाम तथा निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गराउन निर्वाचन प्रहरी आवश्यक पर्ने बताइएको छ।
सूचनाअनुसार इच्छुक उम्मेदवारले २०८२ साल मंसिर २५ गतेदेखि पुस १ गतेसम्म बिहान १०:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म, सार्वजनिक बिदामा पनि दरखास्त दिन सक्नेछन्। फाराम काठमाडौं, ललितपुर, भक्तपुर प्रहरी परिसर र देशभरका जिल्ला प्रहरी कार्यालयबाट प्राप्त गरी सोही कार्यालयमा बुझाउन सकिनेछ।
उमेर सीमा:
दरखास्त दिने अन्तिम दिनसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ। जन्ममिति २०२८/१०/०१ देखि २०६४/१०/०१ बीच पर्ने नेपाली नागरिक आवेदन दिन योग्य हुनेछन्।
योग्यता:
– नेपाली नागरिकता भएको
– साधारण लेखपढ गर्न जान्ने
– नैतिक पतन हुने फौजदारी अभियोगमा सजाय नपाएको
– राजनीतिक दलको सदस्य नभएको
– शारीरिक तथा मानसिक रूपमा स्वस्थ
भर्ना प्रक्रियामा शारीरिक परीक्षण, स्वास्थ्य परीक्षण र अन्तिम छनोट हुनेछ। छनोटमा परेकाहरूलाई तालिमपछि निर्वाचन सुरक्षामा खटाइने नेपाल प्रहरीले जनाएको छ।
निर्वाचन सुरक्षा : नेपाल प्रहरीले झण्डै डेढ लाख जवान माग्यो, आवेदन पुस १ सम्म !
