इन्सेकद्वारा मानव अधिकार रक्षकहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न !

जनकपुरधाम । जनकपुरधाममा मानव अधिकारको क्षेत्रमा क्रियाशील व्यक्तिहरूका लागि दुई दिने मानव अधिकार रक्षक क्षमता अभिवृद्धि तालिम शनिबार सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेशको आयोजनामा सम्पन्न तालिममा प्रदेशभरिका मानव अधिकार रक्षकहरूको सहभागिता रहेको थियो ।
तालिमको उद्घाटन सत्रमा मधेश प्रदेशका सभामुख रामआशिष यादवले लोकतन्त्र, सामाजिक न्याय र विधिको शासन सुदृढ बनाउन मानव अधिकार रक्षकहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार अभ्यासको आधारमा जिम्मेवार र प्रभावकारी ढंगले कार्य गर्न मानव अधिकार रक्षकहरूलाई आग्रह गर्नुभयो ।

मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षण आवश्यक रहेको उल्लेख गर्दै सभामुख यादवले इन्सेकले पटक–पटक छलफल गर्दै आएको मानव अधिकार रक्षकको सुरक्षा सम्बन्धी विधेयकलाई पुनः छलफलमा ल्याई कानुनी रूप दिन समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयका प्रमुख बुद्धनारायण साहनीले मानव अधिकारको अवधारणा, नेपालमा विद्यमान मानव अधिकारका सवाल, उल्लङ्घन, ज्यादती र अपराधबारे सहजीकरण गर्दै मानव अधिकार रक्षकहरूलाई तथ्य र अध्ययनको आधारमा कार्य गर्न सुझाव दिनुभयो । मानव अधिकार रक्षकहरू चुनौती र जोखिमका बीच कार्य गरिरहेकाले उनीहरूको पहिचान, कानुनी हैसियत र संरक्षणसम्बन्धी स्पष्ट व्यवस्था आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

इन्सेक मधेश प्रदेश संयोजक राजु पासवानले मानव अधिकार रक्षकहरू सुरक्षा चुनौतीका बीच कार्य गरिरहेको बताउँदै उनीहरूको सुरक्षा र संरक्षण अपरिहार्य रहेको उल्लेख गर्नुभयो । मानव अधिकार रक्षकको सुरक्षा र पहिचानका लागि छुट्टै कानुन आवश्यक रहेको भन्दै त्यसका लागि मधेश प्रदेशका सभामुख यादवसँग पहल गरिदिन आग्रह गर्नुभयो ।

इन्सेक केन्द्रीय कार्यालयका मानव अधिकार शिक्षा कार्यक्रमका फोकल पर्सन तथा अधिवक्ता कृष्णप्रसाद नेपालले दुई दिने तालिमको उद्देश्यबारे प्रकाश पार्दै मानव अधिकार रक्षकहरूले मानव अधिकारमैत्री नीति तथा कानुन निर्माणका लागि प्रदेश र स्थानीय सरकारसँग प्रभावकारी पैरवी गर्नुपर्नेमा जोड दिनुभयो ।

मानव अधिकार समूह मधेश प्रदेशकी अध्यक्ष देवीमाया भट्टराईले मानव अधिकार रक्षकहरूले निष्पक्ष र स्वतन्त्र रूपमा नागरिकका अधिकारका सवाल उठाउँदै आएकाले स्थानीय तहमा जनविश्वास बढ्दै गएको बताउनुभयो ।

मानव अधिकार रक्षक सञ्जाल मधेश प्रदेशका अध्यक्ष तथा अधिवक्ता राजकुमार महासेठले जोखिमका बाबजुद मानव अधिकार रक्षकहरूले पीडितको पक्षमा खेलेको भूमिकाको चर्चा गर्दै मानव अधिकार रक्षकहरूको सुरक्षा र सशक्तीकरण राज्यको दायित्व भएको स्पष्ट गर्नुभयो ।

महिला मानव अधिकार रक्षक सञ्जाल मधेश प्रदेशकी अध्यक्ष तथा अधिवक्ता रेखा झाले लैङ्गिक हिंसा तथा महिलाविरुद्ध हुने हिंसासम्बन्धी अन्तर्राष्ट्रिय, क्षेत्रीय र कानुनी मापदण्डबारे सहजीकरण गर्दै मानव अधिकार रक्षकहरूको भूमिकालाई अझ संवेदनशील र सशक्त बनाउन इन्सेकले आयोजना गरेको यो तालिम महत्वपूर्ण रहेको बताउनुभयो ।

तालिममा मानव अधिकारको क्षेत्रमा क्रियाशील मधेश प्रदेशका मानव अधिकार रक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

source ;- इन्सेक

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *