साना किसान कृषि सहकारी बघचौडा: ९औँ साधारणसभा सम्पन्न, १३ करोडभन्दा बढी सम्पत्ति !

न्युज टाईम्स टिभी डेस्क – जनकपुरधाम। धनुषाको हंसपुर नगरपालिका वडा नं. २ बघचौडामा अवस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको ९औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ।

साधारणसभाको अध्यक्षता संस्थाकी अध्यक्ष उषा देवी झाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका प्रबन्धक जितेन्द्र यादवले गर्नुभएको थियो।

साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/०८२ सम्म सहकारीका कुल शेयर सदस्य संख्या १,११२ पुगेको छ भने ५७८ जना ऋणी सदस्य रहेका छन्।

आर्थिक विवरणअनुसार चालु आर्थिक वर्षमा सहकारीले २ करोड ७६ लाख ४८ हजार रुपैयाँ आम्दानी गरेको छ भने १ करोड ८६ लाख ५२ हजार रुपैयाँ खर्च भएको छ। यस अवधिमा सहकारीले ८९ लाख ९५ हजार रुपैयाँ नाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ। साथै, संस्थाको कुल सम्पत्ति १३ करोड ७१ लाख ३७ हजार ७३१ रुपैयाँ पुगेको छ।

कार्यक्रममा बोल्दै प्रबन्धक जितेन्द्र यादवले सहकारीमार्फत कृषिमा थप लगानी गर्ने, किसानलाई आधुनिक प्रविधि, गुणस्तरीय बीउबिजन, मल तथा सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसबाट किसानको उत्पादन र आम्दानी दुवै वृद्धि हुने उहाँको विश्वास थियो।

साधारणसभाको अवसरमा दिवंगत भएका १५ जना शेयर सदस्यका परिवारलाई सम्मान पत्रसहित प्रति परिवार १० हजार रुपैयाँका दरले प्रोत्साहन रकम प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि हंसपुर नगरपालिकाका मेयर प्रदीप कुमार यादव रहनुभएको थियो। उहाँले सहकारीले किसानको आर्थिक उन्नति र आत्मनिर्भरता बढाउन खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा दुर्गी देवी मण्डल तथा पूर्व मेयर रामज्ञान मण्डलको उपस्थिति रहेको थियो। त्यस्तै, उदघोषक पप्पु कुमार यादवलगायत शेयर सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *