जिल्ला धनुषाको औरही गाउँपालिका–३ स्थित श्री बहुमुखी अधारभूत बिधालय कपटौलले शैक्षिक सत्र २०८२ को लागि विद्यार्थी भर्ना अभियान तथा नयाँ शैक्षिक कार्यक्रमको सुरुवात गरेको छ। विद्यालयले बालविकासदेखि कक्षा ७ सम्मका विद्यार्थीहरूका लागि भर्ना प्रक्रिया खुला गर्दै नयाँ शैक्षिक कार्यक्रम पनि प्रारम्भ गरेको हो।
“सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्रतिको सुनिश्चितता गरौं” भन्ने मूल नाराका साथ सुरु गरिएको यो भर्ना अभियान वैशाख महिनाको अन्त्यसम्म सञ्चालन हुनेछ।
आइतबार विशेष रुपमा सञ्चालन गरिएको घरदैलो कार्यक्रम अन्तर्गत विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थीहरू प्लेकार्ड बोकेर घर–घर पुगेर बालबालिका तथा अभिभावकलाई विद्यालयमा भर्ना गराउने प्रेरणा दिएका थिए। “बेटी बचाउ, बेटी पढाउ”, “काम छोडाउ, स्कूल पढाउ”, “छोरा–छोरी बराबरी, स्कूल पठाउ सरासरी” जस्ता सन्देश बोकेका विद्यार्थीहरूले अभियानलाई सशक्त बनाएका थिए।
प्रधानाध्यापक रोहित कुमार यादवका अनुसार, यो अभियानको उद्देश्य प्रत्येक बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउनु हो। “शिक्षा नै समाज रुपान्तरणको आधार हो। हाम्रो विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यसहित विद्यार्थी भर्ना अभियान २०८२ सञ्चालनमा ल्याएको हो। सबै अभिभावकहरूलाई आग्रह गर्दछु—आफ्ना छोराछोरीलाई विद्यालय पठाएर उज्यालो भविष्यतर्फ उन्मुख गरौं। हामी प्रत्येक बालबालिकालाई विद्यालयसम्म पुर्याउने प्रतिबद्धतासहित घरदैलो कार्यक्रम सञ्चालन गरिरहेका छौं ” उनले बताए।
उक्त कार्यक्रममा विद्यालय परिवारका सबै सदस्यहरूसँगै शिक्षक/शिक्षिका,कर्मचारी, बिधार्थी था स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो।