न्युज टाईम्स टिभी डेस्क, काठमण्डौ, ३ जेठ २०८२, शनिवार
देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित शिक्षा उपसमितिको बैठक चलिरहेका बेला अचानक विद्युत आपूर्ति अवरुद्ध भएपछि सांसदहरूले मोबाइल फोनको उज्यालोमा बैठक जारी राखेका छन्।
शुक्रवार बसेको बैठकका क्रममा करिब ५ मिनेटअघि विद्युत् आपूर्ति अवरुद्ध भएपछि केहीबेरका लागि अन्धकार छायो। तर, बैठकमा सहभागी सांसदहरूले मोबाइलको बत्ती बालेर छलफललाई निरन्तरता दिएका छन्। बैठकमा सहभागी एक सांसदका अनुसार, “बिजुली अचानक गयो, तर हामीले मोबाइलको टर्च बालेर बैठक रोकिन दिएनौं।”
उपसमितिमा शिक्षा विधेयकसम्बन्धी विषयमा छलफल भइरहेको छ। पछिल्लो समय शिक्षक आन्दोलनका कारण शिक्षा क्षेत्रले ठूलो चर्चा पाएको छ। त्यसैले सरकारले शिक्षा विधेयकलाई अघि बढाउन विशेष प्राथमिकता दिएको हो।
यस्तो संवेदनशील र महत्त्वपूर्ण बैठकका क्रममा सिंहदरबारभित्रै विद्युत् अवरुद्ध हुनु सरकारी संरचनाको कार्यदक्षता र तयारीप्रति प्रश्न उठाउने खालको रहेको टिप्पणी विश्लेषकहरूले गरेका छन्। सिंहदरबारजस्तो उच्च सुरक्षायुक्त तथा सुविधायुक्त क्षेत्रमै यस्तो घटना हुनुले राज्य संयन्त्रभित्रको कमजोरी उजागर भएको देखिन्छ।
तर, प्रतिकूल परिस्थितिमा पनि बैठक अवरुद्ध हुन नदिई निरन्तरता दिन सांसदहरूले देखाएको प्रतिबद्धता भने सराहनीय रहेको बताइएको छ।
सरकारले यस्ता प्राविधिक समस्या दोहोरिन नदिन आवश्यक संरचनात्मक सुधारको कदम चाँडै चाल्नुपर्ने देखिएको छ।