अनितेश यादव, जनकपुरधाम ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याइन गर्दा ९६.७५% प्राप्ताङ्ग सहित आर्थिक बर्ष २०७९।८० मा धनुषाको औरही गाउँपालिकाले १८ वटा स्थानीय तहहरु मध्ये प्रथम स्थान ल्याएको र देश भरका ७५३ स्थानीय तहहरु मध्ये चौथो स्थान ल्याउनमा सफल भएको छ ।
कार्यप्रकृया र उपलब्धीहरुको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरुको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरुको जानकारी लिन र आवधिक समीक्षाको लागि आधार प्राप्त गर्न औरही गाउँपालिकाले क्षमता स्वमूल्याइन गर्दा जम्मा प्राप्ताङ्ग (औसत ) ९६.७५% , समग्र स्थिति ९८.८१ %, प्रक्रियाग्त स्थिति १००% परिमाणात्मक स्थिति ९३.३३ % ल्याएको LISA को तथ्यांकले देखाउ छन् । शासकीय प्रवन्ध १००%, संगठन तथा प्रशासन १००%, वार्षिक बजेट तथा योजना व्यवस्थापन ८६.३६%, वित्तीय एवम् आर्थिक व्यवस्थापन ९७.७३%, सेवा प्रवाह १००% , न्यायिक कार्य सम्पादन १००%, भौतिक पूर्वाधार ९२.३१%, सामाजिक समावेशीकरण ९५%, वातावरण संरक्षण तथा विपद व्यवस्थापन १००%, सहकार्य र समन्वय १००% औरही गाउँपालिका अन्तर्गत स्व-मूल्याङ्कन विषयक्षेत्रहरुमा भएको हो।
अध्यक्ष उमा शंकर प्रसाद शाह, प्रमुख प्रशासकीय अधिकृत सविर कुमार महताे लगायत सम्पूर्ण कर्मचारीहरु र जनप्रतिनिधिहरुको अथक मिहिनेत र प्रयासवाट सार्वजानिक सेवा प्रवाहमा सुधारआएको देखिन्छ । साथै, यस भन्दा अघिल्लो आर्थिक वर्षमा निमितको भरमा चलेको यो पालिकाले कुनै पनि अंक (० अंक) प्राप्त गर्न सकेको थिएन ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन गर्दा प्रतिस्पर्धामा माथिल्लो स्थानमा देखिएको,संघीय सरकार, प्रदेश सरकार तथा दातृ निकायबाट प्राप्त हुने विभिन्न अनुदानहरुको अनुपात बढ्ने, पालिकाको समग्र सुचकहरुमा सुधार भई सेवा प्रवाहमा सुधार भई सुशासन बढ्ने,स्थानीय तहका कर्मचारीहरुको क्षमतामा अभिवृद्धि हुने, पालिकाको कामकारवाहीको मुल्यांकन Online बाटै देश विदेश बाट हेर्न सकिने र NGO/INGO को लगानी आकर्षन हुने जस्ता फाईदाहरु औरही गाउँपालिकालाई नै हुने प्रमुख प्रशासकीय अधिकृत महताेले भने ।
यदपी, स्थानीय तह गाउँपालिका तथा नगरपालिकाहरुको बीचमा तुलनायोग्य सूचकहरु तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन वाञ्छनीय भएकोले स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ८० को प्रयोजनको लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ तर्जुमा गरेको छ ।