न्युज टाईम्स टिभी डेस्क – धनुषा, २०८२ मंसिर १ गते
धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका–८ पोर्ताहा र सिराहा जिल्लाको कर्जनहा नगरपालिका–१ सङ्ग जोडिएको पूर्व–पश्चिम राजमार्ग नजिकको कमला खोलामा अवैध उत्खनन गर्ने समूहले प्रहरीमाथि आक्रमण गर्दा एक असई गम्भीर घाइते भएका छन्।
२०८२ कार्तिक ३० गते राति करिब ९ बजेतिर अवैध उत्खनन चलिरहेको सूचना पाएपछि पोर्ताहा प्रहरी चौकीका चारजनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यही क्रममा चौकीमा कार्यरत ४५ वर्षीय असई विरेन्द्र यादवमाथि उत्खननमा संलग्न समूहले आक्रमण गरेको इलाका प्रहरी कार्यालय ढल्केबरका इन्स्पेक्टर लक्ष्मण केसीले बताए।
आक्रमणबाट असई यादवका दुवै खुट्टामा गम्भीर चोट लागेकाले उनलाई सोही रात लालगढस्थित लालगढ मोडल हस्पिटलमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ।
सातभन्दा बढी ट्रयाक्टर र करिब २५ जनाभन्दा बढी व्यक्तिको समूह घटनामा संलग्न रहेको प्रहरीले बताएको छ। ठक्कर हान्ने ट्रयाक्टर र घटनामा सहभागी व्यक्तिहरुको पहिचान भइसकेको र उनीहरूको खोजी तीव्र पारिएको प्रहरीको भनाइ छ।
