न्युज टाईम्स टिभी डेस्क – जनकपुरधाम, १ मंसिर २०८२, सोमबार ।
राजनीतिक गतिविधिमा सरकारी विद्यालयका शिक्षक र कर्मचारी संलग्न भएको तथ्य सार्वजनिक भएको छ।
बिदेह नगरपालिकावडा नम्बर ७ स्थित श्री भगवती आधारभूत बिधालय योगयराका अंग्रेजी शिक्षक पुजन ठाकुर र वडा नम्बर ९ स्थित श्री शिव शंकर माध्यमिक बिद्यालय ईटरवाका लेखापाल मनोज ठाकुर प्रदेश सभा सदस्य लखन दासको समर्थनमा मोटरसाइकलमा सहभागी भएको तस्वीर बाहिर आएको हो। सहभागी मोटरसाइकल जुलुसमा एमाले पार्टीको झण्डा फहराइरहेको दृश्य स्पष्ट देखिन्छ।
यही दृश्य सार्वजनिक भएको आधारमा स्थानीयवासीहरूले उनीहरू प्रत्यक्ष रूपमा दलगत गतिविधिमा संलग्न भएको आरोप लगाएका छन्। “सरकारी विद्यालयका शिक्षक र कर्मचारी राजनीतिक क्षेत्रमा सक्रिय देखिनु कानुन र आचारसंहिताविपरीत हो,” स्थानीयले टिप्पणी गरेका छन्।
प्रचलित कानुनअनुसार सरकारी सेवामा कार्यरत कर्मचारीले कुनै पनि राजनीतिक दलको जुलुस, सभा, रयाली, प्रदर्शन, प्रचार–प्रसार, कार्यक्रम वा गतिविधिमा सहभागी हुन नपाउने स्पष्ट व्यवस्था छ। यस्तो अवस्थामा शिक्षक पुजन ठाकुर र लेखापाल मनोज ठाकुरको सहभागिताले शिक्षा क्षेत्रमा पनि राजनीतिक हस्तक्षेप बढ्दै गएको संकेत दिएको स्थानीयवासीहरू बताउँछन्।
घटनाप्रति सम्बन्धित निकायहरूलाई छानबिन गरी आवश्यक कारबाही गर्न स्थानीयहरूले माग गरेका छन्।
यता, विद्यालयका कर्मचारीहरूलाई शैक्षिक कार्यमा पूर्ण जिम्मेवारीपूर्वक संलग्न हुनुपर्ने बताउँदै प्रधानाध्यापक बिरेन्द्र पुर्वेले विद्यालयको काम भन्दा बाहिर राजनीतिक कार्यक्रम वा गतिविधिमा शिक्षकको संलग्नता प्रमाणित भए आवश्यक कारबाही गरिने स्पष्ट चेतावनी दिएका छन्।
त्यसैगरी प्रधानाध्यापक कृष्ण देव यादवले राजनीतिक क्रियाकलापप्रति कडा आपत्ति जनाउँदै विद्यालयका शिक्षक–कर्मचारीलाई कुनै पनि पार्टीगत कार्यक्रममा सहभागी नहुन निर्देशन दिएका छन्। उनले राजनीतिक संलग्नता देखिएमा कानुनअनुसार कारबाही हुने जानकारी दिए ।

