औरही गाउँपालिकामा समावेशी शासन तथा अपाङ्गता भएका महिला–किशोरीका लागि परिचारात्मक बैठक सम्पन्न !

न्युज टाईम्स टिभी डेस्क, जनकपुरधाम । औरही गाउँपालिकामा “समावेशी शासन, स्वतन्त्रताको प्रोत्साहन तथा नेपालका अपाङ्गता भएका महिला–किशोरीहरूका लागि रूपान्तरीत वातावरण परियोजना” विषयक परिचारात्मक बैठक बिहीबार सम्पन्न भएको छ। बैठक विभिन्न निकाय तथा सरोकारवालाबीच सहकार्य गर्दै अपाङ्गता भएका व्यक्तिहरूका अधिकार सुनिश्चित गर्न आवश्यक नीतिगत तथा व्यवहारिक कदमहरूमा जोड दिँदै सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष उमा शंकर प्रसाद साहले अपाङ्गता भएका व्यक्तिहरू शिक्षाबाट सबैभन्दा धेरै वञ्चित हुने गरेको उल्लेख गर्दै, परियोजनाले शिक्षामा विशेष ध्यान दिनुपर्ने र पालिका पनि सहयोग गर्न सदैव तत्पर रहने बताए।

वडा अध्यक्ष शंकर प्रसाद साहले पालिकाबाट ‘क’ र ‘ख’ वर्गमा परेका अपाङ्गता भएकाहरूलाई सहयोग पुगेको भए पनि ‘ग’ वर्गमा पर्ने व्यक्तिहरूलाई पनि समान सहयोग आवश्यक भएको धारणा राखे।

उपाध्यक्ष पुनम कुमारी साहका अनुसार कानुनअनुसार ‘क’ र ‘ख’ वर्गले सुविधा पाए पनि ‘ग’ र ‘घ’ वर्गले अझै पनि सुविधा पाउन कठिनाइ भइरहेको बताइन्।

ईलाका प्रहरी कार्यालय औरहीका प्रहरी सहायक निरीक्षक सरोज कुमार यादवले यस आर्थिक वर्षमा अपाङ्गता सम्बन्धी उजुरी नआए पनि महिलाविरुद्ध हिंसा सम्बन्धी उजुरीहरू भने आईरहेको जानकारी दिए।

कार्यक्रम मुक्ति नेपाल, नेपाल अपाङ्ग महिला संघ र CBMको संयुक्त आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासनिक अधिकृत, स्वास्थ्य तथा शिक्षा शाखाका प्रमुख, महिला तथा बालबालिका शाखा प्रमुख, वडा अध्यक्षहरू, महिला मानवअधिकार रक्षक, अधिकारकर्मी तथा अपाङ्गता भएका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकमा CBM अधिकृत सिन्जा राउतले परियोजना सम्बन्धी प्रस्तुतिकरण दिएकी थिइन्। मुक्ति नेपालका अधिकृत विनोद महराका अनुसार, बैठकले स्थानीय तहका प्रतिनिधि तथा सरोकारवालाबीच समन्वय बढाई अपाङ्गता भएका व्यक्तिहरूका अधिकार कार्यान्वयनमा विशेष जोड दिनुपर्ने निष्कर्ष निकालेको छ।

मधेश प्रदेशका आठ जिल्लामा ३२ पालिकालाई समेटिएको यो चार वर्षे परियोजनामध्ये धनुषाका जनकपुरधाम उपमहानगरपालिका, गणेशमान चारनाथ नगरपालिका, औरही गाउँपालिका र बटेश्वर गाउँपालिका चयन भएका छन्। हाल जनकपुरधाम, गणेशमान चारनाथ र औरही पालिकामा परिचारात्मक बैठक सम्पन्न भइसकेको छ भने बटेश्वर गाउँपालिकामा कार्यक्रम हुन बाँकी रहेको छ।

यता, जनकपुरधाम उपमहानगरपालिकाकी उप–प्रमुख किशोरी साहले महिला तथा अपाङ्गता विषयमा नगर सकारात्मक रूपमा अघि बढिरहेको बताए ।
गणेशमान चारनाथ नगरपालिकाका नगर प्रमुख जित नारायण यादवले समावेशी शासनका लागि सबै समुदायको समान सहभागिता आवश्यक रहेको उल्लेख गर्दै, “अपाङ्गता भएका महिला तथा पुरुष दुवैलाई समान रूपमा समेट्दै अघि बढे मात्र परियोजनाको लक्ष्य हासिल हुन्छ,” भने।

यससंगै, उक्त बैठक महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकामा समेत सम्पन्न भएको छ । यो परियोजना अपाङ्गता भएको महिला अधिकारको लागि भएका हुँदा नगरपालिकाले सहकार्य र समन्वय गरि अगाडि बढ्ने नगर उप- प्रमुख तारा देवी महतो प्रतिवद्धता जनाएकी छिन् ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *