वीरगञ्ज ; जेनजी आन्दोलनको व्यापक तोडफोड र आगजनी, ११ सरकारी कार्यालय, ९ प्रहरी कार्यालय र ७ नेताका घर क्षतिग्रस्त !!

न्युज टाईम्स टिभी डेस्क – पर्सा, ५ असोज २०८२, आइतवार
भदौ २४ गते जेनजी आन्दोलनको क्रममा पर्सा जिल्लामा व्यापक तोडफोड र आगजनी भएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आन्दोलनकारीले ११ वटा सरकारी कार्यालय, ९ वटा प्रहरी कार्यालय र ७ जना नेताका घरमा क्षति पुर्‍याएका छन्।

मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जमा १६ वटा सरकारी सवारीसाधन र २ वटा निजी सवारीसहित १८ वटा गाडीमा क्षति पुगेको छ। यसमध्ये दुईवटा एम्बुलेन्ससहित सबै गाडी पूर्णरूपमा जलेर नष्ट भएका छन्। साथै, महानगरको मेयर सचिवालयसहित ७ वटा भवनमा क्षति पुगेको छ, जसमा ३ वटा भवन प्रयोगयोग्य नरहेको महानगरपालिकाले जनाएको छ।

तोडफोड र आगजनीका घटनामा नेपाल टेलिकम वीरगञ्ज शाखा, आन्तरिक राजश्व कार्यालय, वीरगञ्ज महानगरपालिकाका १०, १४ र २६ नम्बर वडा कार्यालय, जिराभवानी गाउँपालिका कार्यालय, वीरगञ्ज कारागार, बालसुधार गृह, पोखरिया नगरपालिका र उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्ज पनि समावेश छन्।

आन्दोलनकारीले मेयर राजेशमान सिंह, पूर्वमन्त्रीहरु राजकुमार गुप्ता, अजय चौरसिया, प्रदीप यादव, संविधानसभा सदस्य अनिल रुंगटा, मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दी र जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीका निजी घर र सम्पत्तिमा पनि क्षति पुर्‍याएका छन्।

क्षतिग्रस्त संरचनाको सङ्ख्या संकलन भए पनि लागत विवरण भने अझै संकलन भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख तोय नारायण सुवेदीले जानकारी दिनुभयो। यसका लागि छुट्टै समिति गठन गरिएको पनि उहाँले बताउनुभयो।

जिल्लामा ९ वटा प्रहरी संरचना समेत क्षतिग्रस्त भएको डिएसपी किशोर लम्सालले जानकारी दिनुभयो। तीमध्ये इलाका प्रहरी कार्यालय सुगौलीबिर्ता, प्रहरी चौकी गण्डक, खेस्राहा, अस्थायी प्रहरी पोस्ट घण्टाघर, शिवपार्वती, रानीघाट, इनर्वा गाउँ र सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया तथा ग्रिनसिटी रहेका छन्। यद्यपि, ती संरचनामा पुनः प्रहरी खटाई सेवा सुचारु गरिएको प्रहरीले जनाएको छ।

एसपी गौतम मिश्रका अनुसार, आन्दोलनकारीको नाममा अन्य समूह घुसपैठ गरी तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। प्रविधिको प्रयोगमार्फत संलग्न व्यक्तिहरूको पहिचान भइरहेको पनि उहाँले बताउनुभयो।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *