न्युज टाईम्स टिभी डेस्क – जनकपुरधाम, धनुषा, २०८२ कार्तिक ९ गते, आईतबार ।
औरही गाउँपालिकाका अध्यक्ष उमाशंकर प्रसाद साहले निरन्तर २७औँ वर्षदेखि छठ पर्वका व्रतालुहरूलाई साडी वितरण गर्दै आएका छन्।
विगत झैँ यस वर्ष पनि उनले छठ पर्व–२०८२ को अवसरमा ४ सय ९५ जना व्रतालु महिलालाई साडी वितरण गरेका छन्।शनिबार एक विशेष कार्यक्रमका बीच साडी वितरण गरिएको थियो।
समाजसेवी नितेश कुमार साहका अनुसार, अध्यक्ष साहको व्यक्तिगत लगानीमा विगत २७ वर्षदेखि निरन्तर साडी वितरण हुँदै आएको हो।
यस वर्ष साडी वितरण कार्यक्रम औरही गाउँपालिका–१ का विभिन्न स्थान — पश्चिमवारी टोल, पुरनदाहा, झिटकोहिया, पौडेश्वर र देउरी–परवाहा क्षेत्रका व्रतालु महिलाहरूलाई लक्षित गरिएको थियो।
कार्यक्रममा अध्यक्ष उमाशंकर प्रसाद साह, समाजसेवी नितेश कुमार साह, प्रतिक साह, राम उद्गार यादव, अमित यादव, सुरेश ठाकुर, वडा सदस्य भूप नारायण यादव, साजन यादव, राम पुकार सहनी, बिहारी यादव लगायत स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।
स्थानीयहरूले यस निरन्तर परम्परालाई सामाजिक सद्भाव र धार्मिक आस्थाको प्रतीक भन्दै अध्यक्ष साहको यो पहलले गाउँमा धार्मिक एकता र सहयोगको भावना बलियो बनाएको बताएका छन्।
