मधेश प्रदेशका ३ जनजीलाई शहीद घोषणा !

जनकपुरधाम, १९ कार्तिक २०८२, बुधबार (न्युज टाईम्स टिभी डेस्क)
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका मध्ये मधेश प्रदेशका तीन जनालाई सरकारले शहीद घोषणा गरेको छ। सरकारले २०८२ कात्तिक १७ गते बसेको मन्त्रिपरिषद् बैठकले देशभरका ४५ जनजीलाई शहीद घोषणा गरेको हो।

शहीद घोषणा भएका मध्ये मधेश प्रदेशका पर्सा, सिरहा र सर्लाही जिल्लाका तीन जना परेका छन्। वीरगञ्ज महानगरपालिका–१२, पर्साका २४ वर्षीय असहाव आलम ठाकुराई, लहान नगरपालिका–१५, सिरहाका २६ वर्षीय विजय चौधरी र लालबन्दी नगरपालिका–५, सर्लाहीका ३१ वर्षीय देवकुमार सुवेदीलाई शहीद घोषणा गरिएको हो।

२०८२ भदौ २३ र २४ गते भएको राष्ट्रहित, सुशासन र भ्रष्टाचार नियन्त्रणको माग राखी गरिएको जेनजी आन्दोलनका क्रममा यी तिनै जनजीको मृत्यु भएको थियो।
भदौ २३ गते बानेश्वरमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ठाकुराईको मृत्यु भएको थियो। सोही घटनामा घाइते भएका चौधरीको उपचारका क्रममा भदौ २४ गते निधन भएको थियो। त्यसैगरी, भदौ २४ गते कालिमाटीमा आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सुवेदीले ज्यान गुमाएका थिए।

सञ्चार मन्त्री जगदीश खरेलका अनुसार, गृह मन्त्रालय अन्तर्गतको अध्ययन समिति, सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरूको सिफारिसका आधारमा देशभरका ४५ जनालाई शहीद घोषणा गरिएको हो।

यदपि, सरकारको निर्णयसँगै मधेश प्रदेशका तीन जनजीलाई पनि आधिकारिक रूपमा शहीदको सम्मान प्रदान गरिएको छ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *