प्रादेशिक अस्पताल जनकपुरधाममा इमर्जेन्सी बाहेकका सेवा ठप्प, बिरामीको स्वास्थ्य अधिकार प्रभावित

धनुषा, २०८३ जेष्ठ ८ गते

जनकपुरधाम उपमहानगरपालिका–१० स्थित प्रादेशिक अस्पताल जनकपुरधाम मा चिकित्सकहरूले २०८३ जेष्ठ ८ गते बिहानदेखि इमर्जेन्सी बाहेकका सबै सेवा ठप्प पार्दै आन्दोलन सुरु गरेका छन्। सेवाहरू बन्द भएपछि उपचारका लागि आएका बिरामीहरू समस्यामा परेका छन्।

जेष्ठ ४ गते औही गाउँपालिका- २ हाल जनकपुरधाम उपमहानगरपालिका–१२ कि २७ वर्षीया अन्जिता देवी यादवको शल्यक्रियाका क्रममा मृत्यु भएको घटनापछि जेष्ठ ७ गते अस्पताल प्रशासन र मृतकका परिवारबीच छलफल भई छानबिन समिति गठन गरिएको थियो। उक्त समितिले शल्यक्रियामा संलग्न डा. धीरेन्द्रकुमार शाह र डा. श्रेया लक्ष्मी शाहलाई अस्थायी रूपमा निलम्बन गर्ने निर्णय गरेको थियो।

सोही निर्णयको विरोधमा चिकित्सकहरूले इमर्जेन्सी बाहेकका सेवा बन्द गरी आन्दोलन गरिरहेका छन्।

उपचार गराउनको लागि गएका लव यादवका भने ,अस्पतालको ओपिडीमा उपचारका लागि आएका बिरामीहरूले सेवा बन्द हुँदा आफूहरू उपचारबाट वञ्चित भएको बताएका छन्। उनीहरूले बिरामी भएर अस्पताल आउँदा चिकित्सकीय सेवा नपाउँदा स्वास्थ्यसम्बन्धी अधिकार प्रभावित भएको गुनासो गरेका छन्।

परिवारजनका अनुसार मृतक महिलालाई बच्चा जन्माउन शल्यक्रियाका लागि अस्पताल ल्याइएको थियो।

यस विषयमा इन्सेक धनुषा प्रतिनिधि सन्तोष कुमार यादवसँग फोनमार्फत कुरा गर्दै अस्पतालका सूचना अधिकारी डा. राम ज्ञान यादवले चिकित्सकहरूले शल्यक्रिया गर्नुअघि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेको दाबी गरे। उहाँले चिकित्सकको लापरवाही प्रमाणित भएमा कारबाही गर्ने अधिकार नेपाल मेडिकल काउन्सिल सँग रहेको बताए।

उनका अनुसार चिकित्सकहरूलाई लाइसेन्स दिने तथा आवश्यक परे खारेज गर्ने अधिकार पनि मेडिकल काउन्सिलसँग नै रहेको छ। छानबिन समितिले कुन कानुनी आधारमा चिकित्सकहरूलाई निलम्बन गरेको भन्ने विषय कानुनविपरीत रहेको चिकित्सकहरूको भनाइ छ।

उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै चिकित्सकहरूले जेष्ठ ८ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेश, स्वास्थ्य मन्त्रालय मधेस प्रदेश, नेपाल मेडिकल एसोसिएसन तथा जिल्ला प्रशासन कार्यालय धनुषा मा ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रअनुसार जेष्ठ १० गतेसम्म माग सम्बोधन नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी चिकित्सकहरूले दिएका छन्।

यता मृतक महिलाको शव अहिलेसम्म अस्पतालमै रहेको छ। घटनालाई मध्यनजर गर्दै ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी मधुसुधन न्यौपानेले जानकारी दिनुभयो।

सन्तोष कुमार यादव

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *